गृहपृष्ठ वडाध्यक्षको छोरा पक्राउ गर्न जाँदा ढुंगामुढा प्रहार, २ प्रहरी घाइते
वडाध्यक्षको छोरा पक्राउ गर्न जाँदा ढुंगामुढा प्रहार, २ प्रहरी घाइते
जिल्लाको बूढीगंगा नगरपालिका- ७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको छ । स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगंगा- ७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपलाई नियन्त्रणमा लिन प्रहरी टोली गाउँ पुगेको थियो ।
सो क्रममा स्थानीय गाउँलेलाई खबर गरेपछि गाउँमाथिबाट एकाएक प्रहरीमाथि ढुंगामुढा प्रहार गरिएको डीएसपी टंकप्रसाद भट्टराईले बताए । बेतालमाडौँ बजारमा व्यवसाय गर्दै आएका पारस रावतमाथि स्थानीय युवाहरुले कुटपिट गरेको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा र दिलीप केसीले ढोका नखोल्दा प्रहरीलाई माथिबाट भएको ढुंगामुढाबाट दुई प्रहरी जवान घाइते भएको इन्स्पेक्टर तथा कार्यालयका प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिए ।
घाइते प्रहरी जवानको टाउको र कम्मरमा चोट लागेको छ । ढुंगामुढा प्रहारबाट रिठ्ठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका छन् । घाइते जवान अछामको बयालपाटा अस्पतालमा उपचारपछि चौकी फर्किएका छन् । प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने केसीसहितका युवालाई प्रहरीले खोजिरहेको छ ।
प्रकाशित समय १२:५६ बजे

















