गृहपृष्ठ दार्चुलामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, विद्यालय भवनसमेत बगायो

दार्चुलामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, विद्यालय भवनसमेत बगायो

लघुजलविद्युत आयोजना क्षतिग्रस्त

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले घर भत्किँदा च्यापिएर दुई जनाको मृत्यु भएको छ । गएरातिको भारी बर्षाका कारण घर माथिबाट खसेको पहिरोले घर च्यापिँदा नौगाड गाउँपालिका- ६ की ४२ वर्षीया मानमति ठगुन्ना र ६ वर्षीया पार्वती ठगुन्नाको ज्यान गएको हो । उनीहरू ठुलीआमा र भतिजी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको शव भत्केको घरबाट निकालिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए । उनका अनुसार घर माथिबाट खसेको पहिरोले घरको सम्पूर्ण सामान नष्ट भएको छ । पहिरोमा परी घाइते भएका चार जनाको स्थानीयले तत्काल उद्धार गरेका प्रहरीले जनाएको छ । पहिरोले सो गाउँका अन्य चार घर र परिगाउँ प्राथमिक विद्यालयको भवनसमेत बगाएको छ ।

दार्चुलका अन्य क्षेत्रमा पनि भारी बर्षाका कारण क्षति पुगको छ । नौगाड गाउँपालिका- २ कोे नौगाड खोला, घट्टे खोला र खार खोलामा रहेका १० वटा पानी घट्ट, दुई चिया पसल र १ सय किलोवाटको नौगाड लघुजलविद्युत आयोजनाको प्रसारण लाइनका १ सय २० वटा बिजुलीका खम्बाहरु बाढीले बगाएको स्थानीयले बताएका छन् ।

भारी बर्षाका कारण धौलीगाड ठाडो खोलामा आएको बाढीले महाकाली राजमार्गसमेत अवरुद्ध बनेको छ । सदरमुकाममै महाकाली नगरपालिका- २ को नमस्कार गाउँ र गल्फैंको बीचमा बग्ने सो खोलाको बाढीले राजमार्ग अवरुद्ध बनको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु