गृहपृष्ठ चेम्बरद्वारा मौद्रिक नीतिको स्वागत
चेम्बरद्वारा मौद्रिक नीतिको स्वागत
राष्ट्र बैंकले जारी गरेको २०७७/७८ को मौद्रिक नीतिलाई चेम्बर अफ कमर्सले स्वागत गरेको छ । मौद्रिक नीति तयारीको क्रममा चेम्बरले दिएका सुझावहरुमध्ये ७५ प्रतिशतभन्दा बढी सम्बोधन गरिएकोप्रति चेम्बरले सकारात्मक प्रतिक्रिया दिएको छ ।
करिब ३ महिनादेखि जारी लकडाउनको कारण उद्योग व्यवसायको स्थायी खर्चको लागि तरलताको चरम अभाव भएको वर्तमान अवस्थामा चैत्र महिनाको चालु पुँजीमा २० प्रतिशत थप कर्जा प्रवाह गरिने व्यवस्थाले व्यवसायलाई राहत पुगेको चेम्बरले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यसैगरी ०७७ असार मसान्त सम्मको कर्जाको साँवा, किस्ता र ब्याज रकमलाई आगामी पुस मसान्त, चैत्र मसान्त र ०७८ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने व्यवस्था समेटिएकोमा मौद्रिक नीति स्वागतयोग्य रहेको चेम्बरले जनाएको छ ।
कोरोना महामारीबाट अतिप्रभावित पर्यटन लगायतका क्षेत्रहरुमा पुनरुत्थानको लागि आवश्यकताअनुसार पुँजी कर्जा, सहुलियत कर्जा र पुनर्कर्जा प्रवाह गराउन मौद्रिक नीतिमार्फत प्राथमिकता दिएकाले चेम्बरले राष्ट्र बैंकको कार्य सरहनीय भएको बताएको छ । कोरोनाभाइरसको महामारीले उत्पन्न आर्थिक संकटका बीच जारी मौद्रिक नीतिबाट व्यवसायीलाई राहत प्राप्त हुने चेम्बरको विश्वास छ ।
प्रकाशित समय १२:२४ बजे

















