गृहपृष्ठ डुब्यो तराई (पाँच तस्बिरसहित)
डुब्यो तराई (पाँच तस्बिरसहित)
साउन ४ गते १२ बजेदेखिको लगातारको वर्षाले प्रदेश २ का अधिकांश ठाउँ डुबेका छन् । निरन्तर वर्षा भए पनि निकास नहुँदा गाउँ बस्ती डुबेका हुन् ।
डुबानको उच्च जोखिम बढाएको भन्दै सोमबार बिहान जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणको मोबाइलमा सन्देश पठाएर सतर्क गराएको थियो । वर्षाले प्रदेश २ का विभिन्न जिल्ला भएर बग्ने त्रियुगा, खाँडो, बलान खुट्टी, माउली, रातो, कमला, बडहरी, जलाद, जमुनी, बिगही, झिम खोला, हर्दी खोला, मरहा खोला, लालबकैया, लखनदेहीलगायत साना तथा ठूला नदीमा आकस्मिक बाढी हुने सम्भावना रहेकाले सोमबार दिउँसोसम्म नदी, तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा नजान मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रदेश २ कै नारायणी नदी, कनकाई, कोशी, कमला, बागमती, तिनाउ, बबई, पश्चिम राप्तीका केही सहायक नदीमा बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रदेश २ सरकारले पनि अपिल गरेको छ ।
प्रहरीलाई उद्धार सामग्री प्रदान
बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि प्रदेश २ सरकारले प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपदजन्य घटना न्यूनीकरण र विपद कार्यलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालय जनकपुरलाई विपद उद्धार सामग्री प्रदान गरिएको मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।
मन्त्री यादवले प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहलाई ४ थान डुंगा, ३२ थान हेलमेट, ३२ थान लाइफ ज्याकेट, ४ थान क्यारी ब्याग, ह्यान्ड पम्प, डुंगा खियाउने बहना ३६ वटाको साथै आठ पोका डोरीलगायतका सामग्री प्रदान गरेका छन् ।
धनुषाको पूर्वी क्षेत्र कमला नदीले बर्सेनि क्षति गर्दै आएकाले शहिद नगरपालिका प्रमुख उदयकुमार बरवरिया यादवले पनि विपदजन्य सामग्री तयारी अवस्थामा राखेको बताएका छन् ।

प्रदेश प्रहरी प्रमुख भन्छन्– आत्तिनु पर्दैन
प्रहरी प्रमुख डिआइजी सिंहले अहिलेसम्म नदीहरुमा सामान्यभन्दा अलि बढी मात्र जलस्तर बढेकाले आत्तिनुपर्ने र जोखिमपूर्ण अवस्था नरहेको बताएका छन् । डिआइजी सिंहले भने, ‘अहिले हाम्रा प्रहरी युनिटहरु बाढी पहिरोको सम्भावित जोखिम क्षेत्र पहिचान गरी निगरानी गरिरहेका छन्, प्रदेश २ मा हुन सक्ने खतरा र जोखिम न्यूनीकरणका लागि हेलिकप्टरसमेत तयारी अवस्थामा राखेका छौँ ।’
आत्तिनुपर्ने अवस्थामा नरहे पनि सतर्क रहन जरुरी रहेको उनले बताए । डिआइजी सिंहका अनुसार बाढीबाट प्रदेश २ मा अप्रिय घटना भएको छैन ।

घर–घरमा चार फिट पानी
निरन्तरको वर्षापछि सहर उन्मुख क्षेत्रका बस्तीमा भने ४ फिटसम्म पानी जमेको छ । पानी निकासका लागि नाला व्यवस्थापन नभएकाले अस्थायी राजधानी जनकपुरका अधिकांश भूभागमा पानी जमेको छ । प्रादेशिक अस्पताल जनकपुरमा समेत पानी जमेको छ ।
जनकपुरको बाह्र बिघा रंगभूमि मैदान पनि पानीले भरिएको छ । पिडारीचोकको नमुना बस्ती, पछिवारी टोल, मुरलीचोक, पुलचोक, जनकपुर विमानस्थललगायतका क्षेत्रमा पानी जमेपछि सोमबार बिहानैदेखि पानीको निकासका लागि जनताको घर–घरमा गएर समस्या बुझ्दै आवश्यक सहयोग गर्दै आएको असहाय संरक्षण मञ्च जनकपुरधामका अध्यक्ष वैद्यनाथ साहले बताए ।
महोत्तरीको जलेश्वर कारागारलगायतका सरकारी कार्यालयहरुमा पनि चार फिटसम्म पानी जमेको छ । पानीको निकास नभएकाले गर्दा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । घर–घरमा पानी पसेकाले समस्या भएको जनकपुरधाम ४ का बासिन्दा सञ्जीव पासवानले बताए ।
प्रकाशित समय ०८:०२ बजे



















