गृहपृष्ठ बाढीले बगायो सडक, पुल र मन्दिर, एक जना बेपत्ता
बाढीले बगायो सडक, पुल र मन्दिर, एक जना बेपत्ता
पृथ्वी राजमार्गको दमौली–थर्पु सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा आइतबारदेखि परेको अविरल वर्षापछि मंगलबार बिहान माथिबाट आएको पहिरोले अवरुद्ध भएको राजमार्ग ।
निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा सोमबार आएको बाढीले म्याग्दीका विभिन्न ठाउँमा सडक, तीनवटा मोटरेबल, दुई झोलुंगे पुल र दुई ठाउँमा मन्दिर बगाएको छ ।
अन्नपूर्ण गाउँपालिका ३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ । अन्नपूर्ण ३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताए ।
बेनी–जोमसोम सडकअन्तर्गत घाँसखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । बाढीले घोप्टेभीर, घाँसाखोला, भुरुङ–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ । रुप्सेखोलाको मोटरेबल पुलको दुईतर्फ पिलर ठड्याइएको थियो । घाँसाखोलाको पुल ढलान गर्न सेटिङ गरिएको थियो । रुप्से झरनाको परिसरमा रहेको मन्दिर र गडल्याड वाटरफल रेस्टुराँ पनि बाढीले बगाएको छ ।
मोटरेबल पुल निर्माणमा प्रयोग भएको ज्वाला कन्स्ट्रक्सनको एक एक्साभेटर (डोजर) र पार्किङ गरेर राखिएको बस बगाएको छ । दिउँसो ३ बजेदेखि करिब दुई घण्टा रुप्सेखोलामा ठूलो बाढी आएको थियो । विश्वकै गहिरो अन्धगल्छी आसपासमा रुप्सेखोला कालीगण्डकीमा मिसिन्छ । कालीगण्डकीको बाढीले अन्नपूर्ण गाउँपालिकाको दाना र गाडपार जोड्ने झोलुंगे पुल बगाएको छ । दानाका जितबहादुर पुनका अनुसार सुकेबगर र घराप जोड्ने अर्को झोलुंगे पुलसमेत बाढीले बगाएको छ । रुप्से ब्लक उद्योग पनि बगाएको छ । दानामा निर्माणाधीन २२० केभी क्षमताको विद्युत् सबस्टेसन र क्रसर उद्योग कटानको जोखिममा परेको छ ।
अन्नपूर्ण गाउँपालिका २ भुरुङ–तातोपानीमा कालीगण्डकीले बस्तीतर्फ कटान गर्न थालेपछि सीमा प्रहरी चौकी र रेडक्रसको भवनलगायत ३० भन्दा बढी घर जोखिममा परेका छन् । नदी किनारमा लगाइएको पर्खाल नाघेर बाढीले बस्तीतर्फ कटान गरेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए । जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।
कालीगण्डकी र रघुगंगा नदीको दोभानस्थित जलजला गाउँपालिका २ मा रहेको धार्मिकस्थल राम मन्दिरको धर्मशाला बाढीले कटान गरेर बगाएको छ । बाढीले कटान गरेर मन्दिरको गौशाला, धर्मशाला र १०० ग्राम तौल भएको शालिग्राम शिलाको स्तम्भ बगाइसकेको छ । कटान निरन्तर छ । मन्दिर, पुजारी निवास र गलेश्वरदेखि राममन्दिर जोड्ने झोलुंगे पुल जोखिममा परेको छ ।
राष्ट्रिय परोपकार महासंघद्वारा संरक्षित राम मन्दिर क्षेत्रमा करोडौँ सहयोग जुटाएर निर्माण गरिएका भौतिक संरचना बाढीले क्षति पु–याएको छ । सडक, मोटरेबल र झोलुंगे पुल बगाएकाले एक गाउँदेखि अर्को गाउँमा आवतजावत बन्द भएको दानाका गंगा पुनले बताए । असार २५ गते रघुगंगा नदीमा आएको बाढीले गलेश्वरको बेलिब्रिज भत्काएपछि अवरुद्ध मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक धेरै ठाउँमा पहिरो र बाढीले बगाएकाले पूर्णरूपमा सीधा यातायात सञ्चालनका लागि थप समय लाग्ने देखिएको छ ।
धवलागिरि हिमालको आसपासका क्षेत्रमा भारी वर्षा भएपछि म्याग्दी, कालीगण्डकी र रघुगंगा नदी र सहायक खोलामा बाढीको सतह बढेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । म्याग्दीका प्रमुख यी तीनवटै नदीको पानीको स्रोत हिमाल हुन् । म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजंग कुँवरले बाढीको जोखिममा रहेका बस्तीका बासिन्दालाई सामानसहित सुरक्षित ठाउँमा सारिएको जानकारी गराए । कालीगण्डकी नदीको किनारमा रहेको भुरुङ–तातोपानीको तल्लोबजार, तिप्ल्याङ र बेनीको कालीपुलका बासिन्दालाई रातमा सुरक्षित ठाउँमा गएर सुत्न तथा दिउँसोसमेत उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
दमौली– आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्ड मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गाउँपालिका १ गुणादी र आँबुखैरेनी गाउँपालिका २ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले दुई ठाउँमा गएको पहिरोका कारण बिहानैदेखि राजमार्ग अवरुद्ध रहेको जानकारी दिए । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको र केही समय लाग्ने उनले बताए । ‘दुई ठाउँमा पहिरो गएका कारण राजमार्ग सञ्चालन गर्न केही समय लाग्छ,’ उनले भने । राजमार्ग अवरुद्ध हुँदा पोखरा र मुग्लिङतर्फबाट आउँदै गरेका सवारी साधन रोकिएका छन् ।
निरन्तरको झरीका कारण जिल्लाका केही ठाउँमा घरहरु जोखिममा परेको प्रहरीले जनाएको छ । सोमबार राति केही घरहरुमा क्षति पुगेको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय ०९:२० बजे

















