गृहपृष्ठ काष्ठमण्डपमा राखियो धुरी
काष्ठमण्डपमा राखियो धुरी
ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिनं) पूजा सम्पन्न भएको छ ।
धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा वज्रयानी परम्पराअनुसार पूजा सम्पन्न भएको हो ।
पूजामा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी प्रदेशसभाका सांसद एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धरको सहभागिता रहेको थियो । सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुनर्निर्माणमा केन्द्रित हुने र निर्माण÷पुनर्निर्माणको काम तीव्र गतिका साथ अघि बढाउने जानकारी दिए ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा ९० बढी शीर्षकमा सम्पदाको संरक्षण र पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट विनियोजन गरेको छ । सोही अवसरमा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुनर्निर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । विसं २०७५ वैशाखबाट पुनर्निर्माणको सुरु भएको हो । अध्यक्ष शाक्यले काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गरे ।
उनले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनर्निर्माण गरिरहेको जानकारी दिए । ‘सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ,’ उनले भने, ‘जुन इँटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ ।’
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख रूपैयाँ, दोस्रो र तेस्रो चरणमा पाँच–पाँच करोड रूपैयाँ दिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा तीन वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ । उक्त ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि १९ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । सातौँ शताब्दीको काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको हो ।
बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएका थिए । सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । (रासस)
प्रकाशित समय ०७:२८ बजे

















