गृहपृष्ठ निर्मला हत्या : अनुसन्धानकै नाममा बित्यो दुई वर्ष
निर्मला हत्या : अनुसन्धानकै नाममा बित्यो दुई वर्ष
अपराधीजनिक पुग्न सकेन प्रहरी, परिवार भन्छ- न्याय पाउने विश्वास हरायो
कञ्चनपुरको भीमदत्त नगरपालिका, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधीनजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो ।
घटनापछि मुलुभर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बने पनि पछिल्लो समय प्रहरी अनुसन्धान सुस्ताएको देखिन्छ । यसअघि प्रहरी प्रमुख रहिसकेका प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल र त्यसपछिका प्रमुख ठाकुरप्रसाद ज्ञवालीले घटनास्थलसम्म पुगेर चासोका साथै अनुसन्धानमा जोडबल गरे पनि अपराधी भने पत्ता लगाउन सकेनन् । सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन गरेर पनि घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो ।
विभिन्न समितिका प्रतिवेदनले घटनाबारे थप आशंका व्यक्त गर्नुका साथै प्रमाण मेटिएकाले हत्यारा पत्ता लगाउन कठिन हुनेसमेत बताए । तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातको टोलीले कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालयको घटनाप्रतिको लापरवाही र प्रमाण संकलनमा चुकेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी डिल्लीराज विष्टसहित सात जना निलम्बन गरेको थियो । हाल एसपी विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्ट बर्खास्तीमा छन् भने तत्कालीन प्रहरी अनुसन्धान ब्यूरो (सीआइबी)का डीएसपी अंगुर जिसीसहित अन्य पाँच प्रहरी कर्मचारीको टोली निलम्बनमा छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले हरेक आयामबाट अनुसन्धान जारी रहेको बताए । ‘विभिन्न तह र कोणबाट निर्मला प्रकरणको अनुसन्धान चलिरहेकै छ,’ उनले भने, ‘प्रहरीले दोषी पत्ता लगाएर छाड्छ ।’ घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भएर आउने हरेक डीएसपीलाई उक्त घटनाको अनुसन्धान अधिकृत तोकेर अनुसन्धान हुँदै आएको छ ।
निर्मलाका परिवारका सदस्यले भने न्याय पाउने आशा हराउँदै गएको प्रतिक्रिया दिएका छन् । ‘हामीमाथि पीडामाथि पीडा थपियो, अब न्याय पाउने आश पनि हराउँदै गएको छ ।’ निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिन्, ‘अनुसन्धानमा प्रहरी प्रशासन डटेर लागे पनि अपराधी पक्राउ गर्न सकेनन् ।’
उनले पछिल्लो समय भीमदत्तनगरपालिका- १९, बागफाँटाका ४१ वर्षीय दिलीप विष्टका गतिविधि र कुराबाट आफूलाई शंका लागेर विष्टमाथि किटानी जाहेरी दिएको बताइन् । ‘सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानूनी दायरामा ल्याउने काम प्रहरीको हो,’ पन्तले भनिन्, ‘अनुसन्धानको उपलब्धि राज्य संयन्त्रलाई थाहा होला ।’
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले घटनाबारे प्रहरी हालसम्म कुनै निचोडमा नपुगेको जानकारी दिए । ‘निर्मला घटनालाई हामीले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छाैं,’ उनले भने, ‘हामी निष्कर्षमा पुग्ने गरी सुक्ष्म रूपले अनुसन्धानमा जुटेका छौँ ।’ पछिल्लो समय सुदूरपश्चिम प्रहरी नेतृत्वले पनि निर्मला प्रकरणलाई प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
घटना भएको एक महिनापछि २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका- १९, बागफाँटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्र रुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।
निर्मला प्रकरणको आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका- १८, सालघारीका १४ वर्षीय शनी खुनाको निधन भएको भने अझै केही युवक शारिरीक रूपले नै अशक्त छन् । भदौ ८ गते सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआइजीहरु र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन ।
मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने डीएसपी भने छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ । सुरुआतमा घटनाको अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन इन्स्पेक्टर (हाल निलम्बित) एकिन्द्र खड्का खटिएका थिए । प्रकरणको दुई वर्षमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पाँच जना अनुसन्धान अधिकृत फेरबदल भइसकेको प्रहरी स्रोतले जनाएको छ । (रासस)
प्रकाशित समय ११:१५ बजे

















