गृहपृष्ठ सिन्धुपाल्चोक पहिरो : १० जनाको शव फेला, १ को उद्धार
सिन्धुपाल्चोक पहिरो : १० जनाको शव फेला, १ को उद्धार
सांकेतिक तस्बिर ।
सिन्धुपाल्चोकको दुई स्थानमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ । आइतबार राति मेलम्ची नगरपालिका- ११ मा पुरिएर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ ।
४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरीको शव फेला परेको हो । उनीहरू कर्भडल निर्माणमा खटिएका कामदार हुन् ।
पहिरोमा पुरिएकामध्ये एकजनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए । उनका अनुसार उद्धार गरिएका भारतीय नागरिक बारु साहलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको हेम्स हस्पिटल ल्याइएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका- २, बरुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ११:४७ बजे

















