गृहपृष्ठ राष्ट्रिय जनगणनाको १२औं श्रृंखला पूर्णगणना हुने

राष्ट्रिय जनगणनाको १२औं श्रृंखला पूर्णगणना हुने

केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको १२औं शृङ्खलामा पहिलोपटक पूर्णगणना गरिने भएको छ । यो जनगणना २०७८ साल जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुनेछ ।

यस जनगणनामा सम्पूर्ण घरको प्रयोजनसहितको गणना, प्रविधिको प्रयोग, सामुदायिक प्रश्नावलीको प्रयोग विषयगत प्रतिवेदन र तथ्यांकमा सुलभ पहुँच हुने विभागले जनाएको छ । विभागको टोलीले बिहीबार आगामी जनगणना २०७८ को तयारी सम्बन्धमा अन्तर्क्रिया गरी सो सम्बन्धमा भएका कामकारवाहीबारे जानकारी गराएको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले जनगणना तयारीबारे प्रस्तुतीकरण गर्दै हालसम्म संघ, प्रदेश र स्थानीय तहबाट मस्यौदा प्रश्नावलीमा सुझावहरु संकलन, तहगत समन्वय, सहकार्य र सहयोगसम्बन्धी अध्ययन प्रतिवेदन तथा प्रदेश सरकारको संलग्नतामा प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रम र ७७ जिल्लामा सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिए ।

केन्द्रीय तथ्यांक विभागले हरेक १० वर्षमा गरिने जनगणना १९६८ सालदेखि सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षदेखि तयारी शुरु गरिएको यस गणनामा नेपालको जनसंख्या तीन करोड पुग्ने अनुमान गरिएको छ ।

नेपालमा हालसम्म ११ जनगणनाहरु सम्पन्न भइसकेका छन् । पहिलो जनगणना १९६८ सालमा चन्द्रशम्सेरका पालामा भएको थियो । पहिलो चार जनगणनाहरू १९६८, १९७७, १९८७ र १९९८ सालमा व्यक्ति-व्यक्ति गनेर गरिएको थियो । त्यस्तै २००८ सालमा पाँचौँ गणनाको तयारी हुँदाहुँदै राणाशासन विरुद्धको जनआन्दोलनले गर्दा गणनाको काम बीचैमा रोकिएको थियो ।

२००९/११ को गणना (पाँचाैं) अन्तर्राष्ट्रियरूपमा तुलनायोग्य, २०४८ गणनामा पहिलोपटक लैंगिक तथा समावेशी गरिएको थियो भने २०५८ सालमा पहिलोपटक राष्ट्रिय दिवसका रूपमा जनगणना दिवस (असार ८ गते) मनाउन थालिएको हो । २०६८ सालमा जनगणनाको १०० वर्ष पूरा, ११ औं जनगणनामा पशुपक्षीको समेत पूर्ण गणना गरिएको थियो भने २०७८ सालमा हुने गणना संघीय संरचनामा पहिलो जनगणना हुनेछ ।

जनगणनाको संस्थागत व्यवस्था हेर्दा सबैभन्दा माथि राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्यांक विभाग, सामाजिक तथ्यांक महाशाखा, जनसंख्या शाखा, प्रदेश जनगणना कार्यालय, जिल्ला जनगणना कार्यालय, स्थानीय जनगणना कार्यालय रहेको छ । यस गणनामा नौ हजार सुपरीवेक्षक र ४३ हजार गणक रहने लामिछानेले बताए ।

विभागले विभिन्न जातजाति, भाषा, धर्म, क्षेत्र, वर्ग, अपांगता, बालबालिका तथा ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यकलगायत नागरिक समाजका संघसंस्था तथा सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रमका साथै नमूना (पाइलट) जनगणना गत असार १५ गते सम्पन्न गरिसकेको छ ।

गणनाको समयमा अक्सर बसोबास गर्ने स्थान, छ महिना वा सोभन्दा बढी बसोबास गर्ने वा बसोबास गर्ने मनसाय राखेका व्यक्ति, यस अवधिमा घर नभएका र चलायमान व्यक्तिको गणना जनगणनाको अन्तिम दिन जहाँ भेटिन्छन् त्यहीँबाट गरिने निर्देशक लामिछानेले जानकारी दिए । (रासस)

प्रकाशित समय १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु