गृहपृष्ठ वीरगञ्जमा उपचार नपाएरै गयो विष्णु लामाको ज्यान, स्थानीय प्रशासन मौन
वीरगञ्जमा उपचार नपाएरै गयो विष्णु लामाको ज्यान, स्थानीय प्रशासन मौन
न अस्पतालले भर्ना लिए, न चिकित्सकले नै चासो देखाए : मृतकका आफन्त
बुधबार दिउँसो वीरगञ्ज महानगरपालिका २ छपकैयाँकी २२ वर्षीया विष्णु लामालाई रुघाखोकीसहित सामान्य ज्वरो आयो । केही दिनदेखि अत्याधिक गर्मी बढ्दा मौसम परिवर्तन भएको कारणले उनलाई ज्वारो आएको भनेर विष्णुले सोचिन् । घर छेउमै रहेको फार्मेसीबाट ज्वरो र रुघाखोकीको औषधी किनेर खान सुरु गरिन् ।
बिहीबार साँझसम्म विष्णुको अवस्था सामान्य थियो । आफ्नो ४ वर्षीय छोरीसँग एक्लै बस्ने विष्णुलाई एकाएक शुक्रबार बिहान श्वासप्रश्वासमा समस्या आयो । समस्या देखिएपछि घरभन्दा तीन सय मिटर टाढा बस्ने आफ्नो भिनाजु रुपेश सिंहलाई सहयोग गर्न बोलाइन् । भिनाजुसँगै विष्णु वीरगञ्ज छपकैयाँ वडा नं. १ स्थित इण्डो नेपाल हस्पिटल पुगिन् तर त्यहाँ चिकित्सकले उनलाई कोरोना चेकजाँच गराएर आउन भनेपछि उनी फर्किइन् ।
‘हामी इण्डो नेपाल हस्पिटल पुग्दा विष्णुलाई उच्च ज्वरो आएर श्वासप्रश्वासमा एकदमै गाह्रो भइरहेको थियो,’ विष्णुका भिनाजु रुपेशले सम्झे, ‘त्यहाँ डाक्टर सा’बहरुले कोरोना जाँच गराएर आए मात्र भर्ना गर्छु भनेपछि हामीले चिनजानका एक जना हस्पिटलमा काम गर्ने भाइको सल्लाहअनुसार थप औषधी किन्यौं र भोली कोरोना चेक गराउने भनेर फर्कियौं ।’
दिउँसोसम्म ठिक रहेकी विष्णुलाई राती ९ बजे श्वासप्रश्वासमा फेरी गाह्रो भयो । उनले भिनाजु रुपेशलाई पुन: सहयोग मागिन् र रुपेश घर छेउमै बस्ने स्थानीय पत्रकार अजित भुजेलसँग इ-रिक्सामा लिएर उनलाई एडभान्स मेडिकेयर हस्पिटल पुगे ।
एडभान्स पुग्दा विष्णुको अक्सिजन लेभल घटेको चिकित्सकले बताए र तत्काल आइसीयुमा भर्ना गरे अक्सिजन चढाउनुपर्ने सल्लाह दिए । तर, केही दिन अगाडी एडभान्सका चिकित्सक र कर्मचारीमा कोरोना संक्रमण भेटपछि अस्पतालको इमर्जेन्सी बाहेकका अन्य सेवा बन्द हुँदा उनलाई चिकित्सकले नेसनल मेडिकल कलेज जान सुझाव दिए ।
यता इ-रिक्सा चालकले आफू नेसनल मेडिकल कलेज नजाने भन्यो अनि रुपेश र भुजेलले विष्णुलाई लिएर नारायणी वयोधा अस्पताल पुगे तर त्यहाँ पनि चिकित्सकसहित १४ वटा कर्मचारीमा कोरोना भेटिएका कारण अस्पताललाई बन्द थियो । यो गर्दा गर्दा रातिको ११ बजीसकेको थियो तर विष्णुको अवस्था ठीकै थियो, गाह्रो भए पनि उनी कुरा गरिरहेकी थिइन् ।
त्यहाँबाट उनीहरु विष्णुलाई लिएर तराई हस्पिटलतर्फ लागे । यसै बीच पत्रकार भुजेलले सहयोगको गुहार लगाउँदै फेसबुकमा एउटा पोष्ट लेख्न भ्याए ।
राति अबेरसम्म जागेका जनता समाजवादी पार्टीका स्थानीय नेता तबरेज अहमदले त्यो पोष्ट पढे र भुजेललाई फोन गरे । भुजेलले विष्णुको अवस्थाका बारेमा बताएपछि मोटरसाइकल निकालेर अहमद पनि तराई हस्पिटलका जन निस्के ।
विष्णु तराई हस्पिटल पुग्दा त्यहाँ चिकित्सकहरुले आइसीयुमा एउटा पनि बेड खाली नभएको बताउँदै उनलाई अर्को हस्पिटल जानुस् भनेर फिर्ता पठाईदिए । तराई हस्पिटल पुग्दा विष्णुले आफ्नो होस् गुमाई सकेकी थिइन् ।
‘हामी तराई हस्पिटल पुग्दा विष्णुको आँखा बन्द भए पनि श्वास चलिरहेको थियो । त्यहाँ चिकित्सकहरुले आइसीयुमा बेड खालि छैन । अर्को अस्पताल लिनुस् भनेर हामीलाई भने,’ रुपेशले भने, ‘अनि हामीले आइसीयु खाली नभए पनि इजर्जेंसीमै अक्सिजन चढाई दिन अनुरोध गर्यौं, विष्णुलाई एकदमै गाह्रो भएको थियो । तर उहाँहरु मान्नु भएन, हामीलाई फिर्ता पठाई दिनुभयो ।’
त्यसपछि भुजेलले रिक्सा चालकसँग अनुरोध गरेर रिक्सालाई नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालतर्फ मोड्न लगाए । नेसनल मेडिकल कलेज पुग्दा त्यहाँ विष्णुलाई गेटबाट नै फर्काइयो । ‘कोरोना रिपोर्ट नभएका विरामीलाई भित्र पस्न नदिन हामीलाइ सरहरुको आदेश छ,’ भन्दै गेटबाट नै पालेले विष्णुलाई फर्काए ।
यता भुजेलले अहमदलाई तराई हस्पिटल नगई घण्टाघर चोक पुग्न आग्रह गरे । नेसनलबाट फर्किंदा लिंक रोडमै पर्छ भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर । भुजेलले एक पटक भवानीमा भर्ना गर्ने प्रयास गरौँ भनेर रिक्सालाई रोके तर त्यहाँ पनि कोरोना चेकजाँच नभएका बिरामीलाई भर्ना गर्न नमिल्ने भन्दै पालेले गेटबाटै फर्काए ।
‘विष्णुलाई हामी कहाँ लिएर जाउँ-जाउँ हुँदै थियो, केही समझ आइरहेको थिएन,’ रुँदै रुपेशले भने, ‘अनि भुजेल दाईले ल नारायणी लागौं, त्यहाँ उपचार गर्ला की भनेर भनेपछि हामी नारायणी अस्पताल गयौं तर त्यहाँ पनि हामीलाई डाक्टर छैनन् भनेर भर्ना गरेनन् । एक जना भाईले उहाँको अवस्था एकदमै गम्भीर छ, छिटो अक्सिजन नपाए उनको मृत्यु पनि हुनसक्छ मात्र भने ।’
त्यो बेलासम्म तबरेज अहमद घण्टाघर पुगिसकेका थिए । उनले भुजेललाई फोन गरे । भुजेलले आफूहरु नारायणीमा भएको बताउँदै यहाँ पनि भर्ना गर्न नमानेको कुरा अहमदलाई सुनाए । अहमदले यो कुरा सुनेपछि अस्पतालका मेसु मदन उपाध्यायलाई फोन गरे तर उनको फोन उठेन । मेसुक फोन नउठेपछि अहमदले नारायणी अस्पतालका अर्का चिकित्सक डा. नीरज सिंहलाई फोन गरे । सिंहको पनि फोन उठेन ।
‘मैले मेसु सा’बलाई फोन गर्न धेरै प्रयास गरे तर उहाँले उठाउनु भएन, फेरी मेरो मित्र पर्ने कोभिड अस्पतालका डाक्टर निरज सिंहलाई पनि फोन गरे उनले पनि फोन उठाएनन्,’ तबरेजले भने, ‘अनि मैले भुजेलजीलाई वीरगञ्ज हेल्थ केयर जाउँ भनेर बोलाए ।’
नारायणीबाट वीरगञ्ज हेल्थ केयर हस्पिटल लगभग ४ किलोमिटर टाढा छ । त्यहाँ पुग्दा-पुग्दै विष्णुको श्वास चल्न छोडिसकेको रुपेशले सम्झदै भने, ‘हामी वीरगञ्ज हेल्थ केयर जाँदा विष्णुको श्वास चलिरहेको थिएन, तरपनि चिकित्सकले केही गर्लान् कि भनेर हामीले उसलाई त्यहाँ लाग्यौं तर हेल्थ केयरमा कोभिड संक्रमितहरुलाई मात्र राख्ने रहेछन् । हामीलाई गण्डक कोभिड अस्पताल जान त्यहाँका एकजना स्टाफले सुझाव दिए ।
गण्डक लागेपछि अहमदले त्यहाँका इन्चार्ज डा. उदय नारायण सिंहलाई फोन गरे । डा. सिंहले त्यहाँ रहेको सेमी-आइसोलेसनमा विष्णुलाई भर्ना गर्न स्टाफलाई अराहे । तर, त्यो बेलासम्म विष्णुको मृत्यु भइसकेको थियो । गण्डक अस्पतालका चिकित्सकले विष्णुलाई २ बजे मृत घोषित गरे ।
प्रकाशित समय १०:५४ बजे

















