गृहपृष्ठ भारतमा विमान नै दुई टुक्रा हुनेगरी भएको दुर्घटनामा १८ जनाको मृत्यु, कसरी भयो दुर्घटना ?

भारतमा विमान नै दुई टुक्रा हुनेगरी भएको दुर्घटनामा १८ जनाको मृत्यु, कसरी भयो दुर्घटना ?

दक्षिण भारतको केरला राज्यको एउटा विमानस्थलमा एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक दुर्घटनामा पर्दा अहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा दुई टुक्रा भएको अधिकारीहरूले बताएका छन् ।

विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए । उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटना भएको उड्डयन अधिकारीहरूले बताएका छन् । भारतीय समाचारसंस्था पीटीआईका शनिबार बिहान एक घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या १८ पुगेको हो । स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ ।

कसरी भयो दुर्घटना ?

दुर्घटना हुँदा विमानस्थल भएको क्षेत्रमा वर्षा भइरहेको थियो । वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए। दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा स्थानीय समयानुसार साँझ १९:४० मा दुर्घटना भएको थियो । दुर्घटनापछि दुई टुक्रा भए पनि विमानमा आगो लागेको थिएन ।

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले एउटा ट्वीट गर्दै उक्त विमान ‘ठूलो वर्षाको अवस्थामा धावनमार्गमा ठोक्किएको, त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेको र दुई टुक्रा भएको’ उल्लेख गरेका छन् ।

उनले उक्त दुर्घटनाबारे भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले जाँचबुझ गर्ने बताए । केरलामा अहिले मनसुन चलिरहेको छ ।

विमानमा को थिए ?

कोरोनाभाइरस महामारी फैलिएपछि यूएईमा अलपत्र परेका भारतीय नागरिकहरू उक्त विमान चढेर स्वदेश फर्किँदै थिए । उडान नम्बर IX 1134 भएको उक्त विमानमा सवार यात्रुमध्ये १० जना शिशु थिए ।

दुर्घटनास्थलमा उद्धार कार्य सकिएको र घाइतेहरूलाई क्यालिकट तथा मलापुरमस्थित अस्पतालहरूमा पुर्‍याइएको केरलाका मुख्यमन्त्री पिनारयी विजयनले बताए । एक वरिष्ठ प्रहरी अधिकारीले दर्जनौँ मानिस घाइते भएको र तीमध्ये १५ जना गम्भीर रहेको बताए । एअर इन्डिया एक्सप्रेसले ज्यान गुमाउनेमध्ये दुई जना आफ्ना विमानचालक भएको पुष्टि गरेको छ ।

दुर्घटनाबारे के भन्छन् अधिकारीहरू ?

भारतको राष्ट्रिय विपद्सम्बन्धी काम गर्ने निकायका महानिर्देशक एसएन प्रधानले क्यालिकट विमानस्थलमा “टेबलटप” धावनमार्ग रहेको र विमान चिप्लिएपछि एउटा खोँचमा खसेको बताए । उनले खोँचमा खस्दा विमानको तल्लो भाग ठोक्किएर दुई टुक्रा भएको र विमानको अग्रभाग ‘नराम्ररी क्षतविक्षत र ध्वस्त’ भएको बताए ।

उड्डयनमन्त्री पुरीले डीडी न्यूजसँग बोल्दै सुरुमा विमानमा आगो नलाग्दै केही यात्रुहरूलाई उद्धार गर्न सकिएको बताए । उनका अनुसार कैयौँ यात्रुहरूलाई भने त्यत्तिकै छोड्नुपरेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै दुर्घटनामा प्रियजन गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

भारतमा मनसुनयाममा पहिला पनि विमानहरू दुर्घटनामा परेका छन् । सन् २०१० मे महिनामा एअर इन्डिया एक्सप्रेसको विमान मङ्ग्लोरमा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त हुनँदा १५८ जनाको मृत्यु भएको थियो । मङ्ग्लोरमै गत वर्ष जुलाई महिनामा पनि एउटा विमान दुर्घटनामा परेको थियो । तर त्यसमा कसैको पनि मृत्यु भएन । (बीबीसी नेपालीबाट)

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु