गृहपृष्ठ बाजुरामा बाढीको बितण्डा

बाजुरामा बाढीको बितण्डा

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बाजुरामा ठूलो क्षति गरेको छ । बूढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा ठूलो क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् भने १२–१५ घर र झोलुंगे पुल बगाएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए । बूढीगंगा नदीमा आएको बाढीले घर बगाउँदा बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महतकी ६५ वर्षीय आमा अइसेनी बेपत्ता भएको प्रजिअ गैह्रेले बताए ।

बाढीले घागर, भौनेरा, राप्कालगायतका क्षेत्रका घरहरु बगाएको प्रारम्भिक जानकारी प्राप्त भए पनि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको उनले जानकारी दिए । घरभित्र रहेका मानिस भागेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रजिअ गैह्रैका अनुसार उनीहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्दार गरी सुरक्षित स्थानमा व्यवस्थापनको प्रयास गरिरहेको छ । तर, उद्दारका लागि गएको तीनवटै सुरक्षा निकायको टोली सदरमुकामनजिकै सेलाघाटमा गएको पहिरोका कारण अगाडि बढ्न नसकेको बताइएको छ ।

बाढीले साफे-मार्तडी सडकअन्तर्गत बूढीगंगा नदीमाथि बनाएको बेलिबिज्रसमेत बगाएको छ । बाजुरामा धेरै वर्षपछि बूढीगंगा नदीमा ठूलो बाढी आएको हो । वर्षा भइरहेकाले थप क्षति हुनसक्ने प्रहरीको आंकलन छ ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु