गृहपृष्ठ कर्मचारीमा कोरोना पुष्टि भएपछि गौरीशंकर गाउँपालिका सिल
कर्मचारीमा कोरोना पुष्टि भएपछि गौरीशंकर गाउँपालिका सिल
कर्मचारीसहित दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि दोलखाको गौरीशंकर गाउँपालिका सिल गरिएको छ । आइतबार गरिएको पिसिआर परीक्षणमा प्राथमिक स्वास्थ्य केन्द्र सुरीका एक चिकित्सक र विदेशबाट आएर क्वारेन्टिनमा बसेका एक गरी दुई जनामा कोरोना संक्रमण देखिएपछि सिंगो गाउँपालिका नै सिल गरिएको हो ।
स्थानीय हलेश्वर माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका सात जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिए । उनीहरू दुवै जनालाई आइसोलेसनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार खड्काले बताए । उनका अनुसार गाउँपालिकामातहतका कर्मचारीलाई समेत संक्रमण देखिएपछि स्थानीय सुरी प्राथमिक स्वास्थ्य केन्द्रसहित सिंगो गाउँपालिका सिल गरिएको हो ।
मंगलबार दिउँसो गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसी गाउँपालिका कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र सुरी र वडा नं. ५ को वडा कार्यालयमा आकस्मिकबाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । गाउँपालिका कार्यालयका कर्मचारीमै कोरोना देखिएपछि उनको सम्पर्कमा आएकाहरुको परीक्षणका लागि जिल्ला सदरमुकाम चरिकोटबाट बुधबार थप स्वास्थ्यकर्मीसहितको एक टोली गौरीशंकर गाउँपालिका पठाइने संकट व्यवस्थापन समितिले जनाएको छ ।
संक्रमित कर्मचारीमार्फत गाउँपालिकाका अन्य कर्मचारी र कार्यपालिकाका पदाधिकारीमा पनि संक्रमण सरेको आशंकामा कन्ट्रयाक ट्रेसिङ गर्न लागिएको हो । बिहीबार गौरीशंकर गाउँपालिकाका विभिन्न ठाउँमा बाढीपहिरोले बढी क्षति पुर्याएपछि स्थलगत निरीक्षणमा पुगेका महिला बालबालिकामन्त्री पार्वत गुरुङ ठूलो दलबलसहितको टोली शनिबार गाउँपालिका कार्यालयसमेत पुगेका थिए ।
प्रकाशित समय १०:२३ बजे

















