गृहपृष्ठ उपचारमा समस्या, सहयोगको याचना
उपचारमा समस्या, सहयोगको याचना
चार वर्षदेखि ओछ्यानमा थला परेका वीरेन्द्रनगर ६ शान्तिटोल सुर्खेतका यामबहादुर सुनारले सहयोगको याचना गरेका छन् । २०७३ साल साउनमा बसको छतबाट खसेर मेरुदण्ड भाँचिएका सुनारले उपचारमा आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका छन् ।
‘घरमा कमाउने कोही छैन,’ उनले भने, ‘हालसम्म आफ्नो मात्रै १५ लाख जति खर्च भइसकेको छ ।’ बसको चालकसमेत रहेका उनलाई समितिले उपचारको लागि लखनउसम्म पु-याए पनि बिमा बापतको रकम भने दिएको छैन । मेरुदण्ड भाँचिएर थला परेपछि मुटुको भल्बमा समेत समस्या देखिएको सुनारले बताए ।
‘मेरो यस्तो अवस्था भएपछि छोरा छोरीले समेत पढ्न छोडे,’ उनले थपे, ‘अहिले बिहान बेलुकीको छाक छार्नसमेत धौ–धौ छ ।’ श्रीमतीले घरअगाडि सानो घुम्ती गरेर खाने मेसो गरे पनि मुटुरोग र शरीरमा भएको घाउको लागि मात्रै महिनामा ६ हजारभन्दा बढी खर्च जुटाउन समस्या भएको उनले दुखेसो पोखे ।
आइएनएफ सुर्खेतले पोखरामा ६ महिनासम्मको उपचार खर्च बेहोरे पनि सरकारको तर्फबाट भने कुनै पनि सहयोग आफूले नपाएको उनले गुनासो गरे । आफूलाई उपचारको लागि सहयोग गरिदिन उनले विभिन्न व्यक्ति, संघसंस्था र प्रदेश सरकार तथा स्थानिय सरकारलाई आग्रह गरेका छन् । बाँच्ने रहर हुँदा हुँदै पनि उपचार खर्च जुटाउन नसक्दा अकालमै मृत्युको मुखमा पर्ने डर भएको उनले बताए ।
प्रकाशित समय १४:२३ बजे

















