गृहपृष्ठ काठमाडौं उपत्यकामा प्रवेश गर्न र बाहिरिन प्रतिबन्ध
काठमाडौं उपत्यकामा प्रवेश गर्न र बाहिरिन प्रतिबन्ध
आजदेखि काठमाडौं उपत्यका प्रवेश गर्न र बाहिरिन रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरुपमा बन्द गरेका हुन् । यसअघि सवारी पासका आधारमा आउन-जान मिल्ने व्यवस्था गरिएको थियो ।
नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यका आउन र उपत्यकाबार बाहिरी जिल्ला जान पाइने छैन । पास पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले बताए । उनका अनुसार अत्यावश्यक सेवाका सामान बोकेका सवारी साधन र एम्बुलेन्स सञ्चालनमा भने अवरोध हुने छैन ।
कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले आजदेखि सबै प्रकारका पास वितरण रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन पूर्ण रुपमा पालना हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

प्रकाशित समय १४:५३ बजे

















