गृहपृष्ठ आर्थिक रुपमा विपन्न कोरोना संक्रमितका लागि ‘अक्सिजन बैंक’ स्थापना

आर्थिक रुपमा विपन्न कोरोना संक्रमितका लागि ‘अक्सिजन बैंक’ स्थापना

आर्थिक रुपमा विपन्न कोरोना संक्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना संक्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो ।

स्थापना गरिएको बैंकको शनिबार लाइन्स क्लब वी वानका ड्रिष्टिक गर्भनर मनबहादुर रोका र लाइन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष दीपक वंशलले संयुक्त रुपमा उद्घाटन गरे । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारालाई आत्मासात् गरेको लाइन्स क्लबमा हाल नेपालभर एक हजार ५०० भन्दा बढी क्लब रहेका छन् । देशभरका एक हजार ५०० क्लबमध्ये एक क्लब लाइन्स क्लब अफ काठमाडौँ समर्पणमा ६० सदस्य आबद्ध छन् ।

लायन्स क्लब समर्पणका अध्यक्ष वंशल गम्भीर बिरामी परेका कोरोना संक्रमितलाई अस्पताल र सामान्य बिरामीलाई घरमा राखेर उपचार गर्नसके अस्पतालमा बिरामीको भीडभाड कम हुने बताउँछन् । ‘घरमा बसेर उपचार गराइरहेका सामान्य र विपन्न परिवारलाई लक्षित गरेर हामीले ‘अक्सिजन बैंक’ स्थापना गरेका हौँ,’ उनी भन्छन् । घरमा उपचार गराइरहेका सम्पन्न परिवारले पनि अक्सिजन सिलिन्डर नपाए बैंकमा सम्पर्क गर्न सकिने अध्यक्ष वंशलको भनाइ छ ।

अक्सिजनको अभावमा गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा समस्या भएको अवस्थामा अक्सिजन बैंकको स्थापनाले धेरै राहतको अनुभूति भएको बताइएको छ । लायन्स क्लब समर्पणले सानो ५० र ठूलो १५० सिलिन्डर बिरामीका लागि राखेको छ । सानो सिलिन्डरले चार घण्टासम्म र ठूलो सिलिन्डरले २० घण्टासम्म अक्सिजन दिन्छ ।

यस बैंकले अक्सिजन निःशुल्क प्रदान गर्ने भएकाले सिलिन्डर भने अक्सिजन सकिनेबित्तिकै अक्सिजन बैंकमा फिर्ता गर्नुपर्ने हुन्छ । माग बढ्दै जाँदा सिलिन्डरको क्षमतासमेत बढाउँदै लैजाने अध्यक्ष वंशलको भनाइ छ । आर्थिक अभावका कारण अक्सिजन किन्न नसक्ने विपन्न समुदायलाई बैंकबाट ठूलो राहत मिल्ने विश्वास लिइएको उनले बताए ।

लाइन्स क्लब वी वानका ड्रिष्टिक गभर्नर कोरोना संक्रमणका कारण देशमा समस्या परेको बेलामा सामाजिक संघसंस्थाले आ-आफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताउँछन् । अक्सिजन बैंकका व्यवस्थापक एवं लायन्स क्लब अफ काठमाडौँ समर्पणका सदस्य विवेक शर्मा औषधि किन्न नसक्ने विपन्न बिरामीलाई समेत लायन्स क्लब समपर्णले औषधि किन्नलाई पनि सहयोग गर्ने बताउँछन् ।

तीस लाख खर्च गरेर उक्त बैंक स्थापना गरिएको हो । कसैलाई आकस्मिक रुपमा अक्सिजन चाहिएमा हटलाइन नम्बर ९८२३४४४०५५ वा ९८१३१८६४८४ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिने लायन्स क्लब अफ काठमाडौँ समर्पणले जनाएको छ ।

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु