गृहपृष्ठ दीपिशालाई ‘जोन्टा इन्टरनेशनल योङ वुमन इन पब्लिक अफेयर्स’ अवार्ड
दीपिशालाई ‘जोन्टा इन्टरनेशनल योङ वुमन इन पब्लिक अफेयर्स’ अवार्ड
रसुवाकी दीपिशा भूजेलले सन् २०२० को जोन्टा इन्टरनेशनल योङ वुमन इन पब्लिक अफेयर्स अवार्ड प्राप्त गरेकी छन् । उनलाई जोन्टा क्लब अफ काठमाडौं, डिस्ट्रिक्ट २५ एरिया २ ले छनौट गरेर पुरस्कारका लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनौटमा पठाइएको थियो ।
उनी जोन्टा डिस्ट्रिक्टको ३२ जना पुरस्कार प्राप्तकर्तामध्ये एक हुन् जसले एक हजार ५०० अमेरिकी डलर प्राप्त गर्नेछिन् । छनौट गरिएको ३२ जनामध्ये उनी शीर्ष १० जोन्टा इन्टरनेशनल योङ वुमन इन पब्लिक अफेयर्स २०२० बाट सम्मानित भएकी हुन् र पाँच हजार अमेरिकी डलर पुरस्कार पाउने भएकी छन् । समग्रमा उनले कुल ६ हजार ५०० अमेरिकी डलर प्राप्त गर्ने छिन् ।
अवार्ड कार्यक्रमको लक्ष्य १६ वर्षदेखि १९ वर्षसम्मका युवा महिलाहरुलाई स्वयंमसेवी क्षेत्रतर्फ उनीहरुको प्रतिबद्धता र महिला सशक्तीकरणप्रति समर्पणलाई मान्यता दिएर सार्वजनिक मामिलामा सहभागी हुनु हो । आवेदकहरुलाई उनीहरुको स्कुल र समुदायप्रति तिनीहरुको स्वैच्छिक प्रतिबद्धताको साथै देश र विश्वव्यापी महिला सशक्तीकरणका सीमित समस्याहरुलाई प्रतिबिम्वित गर्न भनिएको थियो । जोन्टा इन्टरनेशनल योङ वुमन इन पब्लिक अफेयर्स अवार्ड कार्यक्रमले आजका युवा महिलाहरुलाई भोलिका नेताको रुपमा हेर्दछ ।
भूजेलले १४ वर्षको उमेरमा क्यानेडियन रेडक्रस इमर्जेन्सी रेस्पोन्स युनिट (इआरयू) मा अनुवादको रुपमा काम गर्न सुरु गरिन् । जुन सन् २०१५ सालको भूकम्पपश्चात तैनाथ थिए र इआरयूको साथमा अस्पताल र स्वास्थ्य शिविरमा पनि काम गरिरहेकी थिइन् । त्यतिखेर उनले खाँचोमा परेका मानिसहरुलाई सहयोग गर्ने उनको भावनालाई बुझिन् । जतिबेला उनका उमेरका मानिसहरु आफ्नो घरबाट बाहिर निस्कनसमेत डराउथे । उनले आफ्नो स्कुलमा जुनियर रेडक्रस सर्कलको उपाध्यक्षमा काम गरेकी छन् र जागृति बाल तथा युवा सरोकार नेपाल नामक एक गैर-सरकारी संस्थामा काम गरेकी थिइन् ।
जहाँ उनले युवा महिलाहरुलाई महिनावारीसम्बन्धी आफ्ना कथाहरु सुनाउने अवसर प्रदान गर्न अनलाइन प्ल्याटफर्म सुरु गरिन् । जसले यसमा संलग्न समस्याहरु उन्मुलन गर्न सहयोग गर्यो । हाल उनी नेपाल्स इभी नामक एक जर्मन अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थामा शैक्षिक प्रोजेक्टमा कार्यरत छिन् । यसले दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई स्वास्थ्य समस्याका बारेमा शिक्षित गर्दछ । उनी बायोडिग्रेडेबल प्याड निर्माणमा संलग्न छिन् र उक्त परियोजनाको सबैभन्दा कान्छी सदस्य हुन् । उनी मनोविज्ञान र अंग्रेजि साहित्यमा स्नातक गरिरहेकी छन् । यसका साथै उनी जर्मन पढिरहेकी छन् र जर्मन भाषा अनुवादकको रुपमा काम गरिरहेकी छन् ।
भूजेल महिलाहरुलाई आर्जन गर्ने गतिविधिका साथ सीपमुलक तालिम प्रदान गर्ने उद्देश्य राख्दछिन् र पुरुषकेन्द्रित समाजमा महिलाहरुले आफ्ना लागि आफै बोल्न सिक्नुपर्छ र निर्णय गर्न सक्नुपर्छ भन्ने दृढ विश्वास राख्छिन् ।
प्रकाशित समय १७:३५ बजे

















