गृहपृष्ठ पत्रकारको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह
पत्रकारको निःशुल्क पीसीआर गराउन महासंघको आग्रह
नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोनाभाइरस (कोभिड- १९)को निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड- १९ को संक्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । महामारीको संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासंघले सबै सञ्चारकर्मीलाई अपिलसमेत गरेको छ ।
सञ्चार प्रतिष्ठानले पनि अति आवश्यकबाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीको प्रयोगसँगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघले आग्रह गरेको छ । विश्वव्यापी रुपया फैलिएको कोभिड- १९ को सङ्क्रमण पछिल्ला दिनमा नेपालमा पनि तीव्र गतिमा फैलिँदै गइरहेको उल्लेख गर्दै उनले महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेको बताए ।
संक्रमणको दर वृद्धि भएसँगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीमा समेत कोरोना संक्रमण देखिने क्रम बढेको महासंघले जनाएको छ । महासचिव विष्टका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन संक्रमणको उच्च जोखिममा रहेका छन् ।
प्रकाशित समय १६:१४ बजे

















