गृहपृष्ठ चट्याङले भेडा मर्दा २६ लाख रूपैयाँको क्षति
चट्याङले भेडा मर्दा २६ लाख रूपैयाँको क्षति
जुम्लाको पातारासी गाउँपालिका- ४, ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् ।
भेडा मर्दा २६ लाख चार हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । ‘पातारासी गाउँपालिकाकास्थित डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज कृष्णबहादुर शाह र पशु तथा भेटेनरी शाखा प्राविधिक हरि कामी नेतृत्वमा मंगलबार ढाँणखर्क पुगेर ल्याएको विवरण अनुसार ११ जना भेडापालक किसानका २१७ भेडा मरेका छन्,’ उनले भने, ‘थप मूल्यांकन पनि हुँदैछ ।’

भेटनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र संघीय सरकारलाई पठाइने जानकारी दिए । गत वर्ष पनि चट्याङ लागेर तिला गाउँपालिका- ६, सूँडी गाउँका २५० भेडा मरेका थिए । (रासस)
प्रकाशित समय १३:४८ बजे

















