गृहपृष्ठ गोरू काट्ने पक्राउ गर्दा झडप प्रकरण : मृतक परिवारसँग ७ बुँदै सहमति

गोरू काट्ने पक्राउ गर्दा झडप प्रकरण : मृतक परिवारसँग ७ बुँदै सहमति

झापा गाउँपालिका- ३ मा प्रहरीले चलाएको गोली लागेर बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई १० लाख रूपैयाँ क्षतिपूर्तिवापत रकम उपलब्ध गराउनेलगायत सातबुँदे सर्वपक्षीय सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चवापत गाउँपालिकाले ५० हजार रूपैयाँ उपलब्ध गराउने छ । त्यस्तै छोराछोरीको शिक्षादीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, सामाजिक सद्भाव बिग्रन नदिन दुवै पक्ष सजग रहने, क्षतिपूर्तिवापत संघीय र प्रदेश सरकारसँग १० लाख उपलब्ध गराउन पहल गर्ने, शव परिवारले बुझेर परीक्षण गरी अन्त्येष्टि गर्नेलगायत सहमति भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

सहमतिपछि शुक्रबार परिवारले शव बुझ्ने छ । सो घटनाको थप अनुसन्धान गर्नका लागि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा डीएसपी, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख सहितको तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाइएको छ । छलफलमा संघीय सांसद, प्रदेशसभा सदस्यसहित स्थानीय जनप्रतिनिधि, पीडित परिवार, राजनीतिक दल र सामाजिक अगुवाको सहभागिता थियो ।

बुधबार गोरु काटेको आरोपमा पक्राउ परेका सोही वडाका ५२ वर्षीय अबदुल सलाम र ५० वर्षीय ताजबुल हकलाई जिप्रका ल्याउने क्रममा स्थानीयवासीसँग दोहोरो झडप हुँदा प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका थिए ।

घाइते आलामको उपचारकै क्रममा विएण्डसी हस्पिटलमा बुधबार राति ७ः४० बजे मृत्यु भएको थियो । घटनालाई सामान्य बनाउन प्रहरीले गाउँपालिका अध्यक्ष जयनारायण साह र उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीको रोहबरमा पक्राउ परेका दुवैलाई छाडिदिएको थियो ।

प्रकाशित समय १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु