गृहपृष्ठ आफ्नै कथा र व्यथामा रुमलिएको छ विचित्रको हुम्ला

आफ्नै कथा र व्यथामा रुमलिएको छ विचित्रको हुम्ला

‘हाडको मान छ, तुँमाखी अम्मल छ, सयको झोबाघोडा बन धपाई दश पैंसे पाठाको खेती छ, हुम्ला दराका आफू मान्ठ लाटा छन् बर्माका काठा छन् ।’ यो उक्ति जब गोर्खालीहरुले कर्णाली प्रदेश कब्जा गर्नका लागि स्थानीयस्तरमा सर्भे गर्दा करीब २ सय ३१ वर्ष अगाडिको अनुमान हो । तापनि हुम्ला कर्नालीका मानिसहरुको मानसिकता अझै यस्तै छ । त्यसपछि १८४६ साल असोजमा गोर्खा राज्यले विशाल कर्णालीलाई तत्कालीन गोर्खाको एक भागका रुपमा समाहित गरेको इतिहास छ ।

हो, हुम्ली समाजमा अझै पनि स्थानीयस्तरमा गाउँघरका बुढापाकाहरुलाई सम्मान गर्ने परम्परा रहँदै आएको छ । यसैले खानापान गर्दा मीठोमसिनो अगाडि दिने गरिन्छ भने सभा समारोह, कचहरी, गुम्बा, माँडुहरुमा मासु दादा आँखा र माँसीहाड सम्मानस्वरुप दिने गरिन्छ । स्वास्थ्यका लागि धुम्रपान हानिकारक भए पनि हुम्लामा टाढाबाट परिचित/अपरिचित मानिसहरु आउँदा पाहुनाको सम्मानमा तमाखु भरेर दिने परम्परा यथावत छ । यसपछि मात्रै सञ्चोबिसञ्चोसम्बन्धी कुराकानी गरिन्छ । वर्तमान अवस्थामा धुम्रपान सामाजिक अपराध सरहको कुरा भए पनि हुम्लामा भने सामाजिक मनोभावना आदानप्रदान गर्ने माध्यमका रुप धुम्रपान नै हो ।

नेपाल कृषिप्रधान देश हो । नेपालीहरु जीविकोर्पाजन कृषि पेशामा नै रुमल्लिएका छौं । न त यो पेशा फेर्न सकेका छौं न त यो पेशालाई व्यावसायिक बनाएर फाइदा नै लिन सकेका छौं । मात्र नेपालको राजनीतिझैँ खै कहाँ के कुरा नमिलेर हो हामी खेतीपातीमा मात्र रुमल्लिएका छौं । यसको भेऊ पाउन सकिएको छैन ।

कर्नाली क्षेत्रको विकासको मेरुदण्डको रुपमा रहेको ऐतिहासिक कालखण्डमा प्रचलनमा रहेको उत्तरदक्षिण राजमार्ग जो सुर्खेतको काँक्रेविहार दुल्लु दैलेखको पाथनाउली सिञ्जा मुगुको कालै हुम्लाको चंखेली, दार्माको देउली, मेल्छामको मैताकुन्ताकोट, रोडीकोटको पंखा, मारुघोर, दुर्पा, खार्पु, सिमकोट, केर्मी, मुचु, यारी, हिल्छा, तालाखार, मानसरोवर, कैलास, तीर्थपुरी हुँदै डिगर्चाससम्म पुग्ने मार्ग नै उत्तरदक्षिण राजमार्ग हो । यो बाटोमा वर्षाको समयमा ७४ प्रकारका र दक्षिणमा १ सय ११ प्रकारका स्थानीय उत्पादन विक्री गरिन्थ्यो । जसको प्रमाण हुम्लाका विभिन्न ठाउँमा रहेका कपासबारीहरु हुन् । तर हाल आएर हुम्लामा कपास खेती मासिँदै गएको छ । हुम्लामा कपास हुने ठाउँहरु दुल्ली, मण्डी, साँया, कल्प्याँ, था, न्याँसी, कालागाड, पीपलांग, लोती, भट्टेबाडा, देवकोटबाडा, खच्चा, तुम्च, मकैँ, भीँगाड, श्रीनगर, मैला हुन् ।

तर हाल आएर स्थानीय वस्तुहरु हराएर गएका छन् । यसको सट्टामा हुम्लाका धेरै गाउँका मानिसहरु विभिन्न स्थानहरुमा काम गर्नका लागि देशारु भएर जान्छन् । घरका लागि चाहिने विभिन्न सामानहरुमा लत्ताकपडाका साथै देशारु कम्बल पनि ल्याउने चलन बढ्दै गएको छ । यसरी सस्तोमा पाइने कपडाहरुको तुलनामा स्थानीय उत्पादन महँगो हुने भएकाले स्थानीयस्तरमा उत्पादनका सीप, प्रविधि तथा वस्तुहरु लोप भएर जाँदैछन् ।

यो कुराले एकातिर स्थानीय अन्नबाली, सीप र प्रविधिहरू दुर्लभ हुँदैछ भने अर्कोतिर विश्व भूमण्डलीकरणको हावामा रुमल्लिएर बौद्धिक सम्पत्तिको संरक्षण गर्नेतर्फ पनि कसैको चासो गएको छैन । समयमै यो कुरा सोचेनौं भने पछि पछुताउनुबाहेक अरु के नै हुन सक्छ र ?

यसैले हामीले स्थानीयस्तरमा चलन/प्रचलनमा रहेका कतिपय उखानटुक्का, जनश्रुति तथा स्थानीय शब्दावलीलाई राम्रोसँग खोजीनीति गर्न सकेको खण्डमा त्यसमा हाम्रो इतिहास, संस्कृति, सम्पदा र अर्थतन्त्र पनि जोडिएको हुन्छ । त्यसैले ‘हाडको मान छ, तुँमाखी अम्मल, काँ गयो ठेटुवा देशारु कम्बल’ भन्ने कुराले हुम्लाको अर्थतन्त्र, समाज संस्कृति र अवस्थाको बारेमा जानकारी दिएको छ । जुन सोचनीय पनि छ ।

बर्सेनि युवा शक्ति कामको खोजीमा विदेश पलायन भएका छन् । गाउँघरका खेतबारीहरु बाँझो बन्दै गएका छन् । संस्कृति र सामाजिक मूल्य मान्यताहरुमा खडेरी पर्न थालको छ । भूराजनीतिक अवस्था खस्कँदै गएको छ । यी कुराहरु बढ्दै गएमा हामी ‘हामी’ नभएर तँ र तिमीबाहेक अरु के नै हुन सक्छौं र

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु