गृहपृष्ठ सेयर बजार सवा ३ घण्टापछि खुल्यो, ५:१५ सम्म कारोबार हुने
सेयर बजार सवा ३ घण्टापछि खुल्यो, ५:१५ सम्म कारोबार हुने
फाइल तस्बिर
आइतबारको सेयर बजार सवा ३ घण्टा बन्द भएर खुलेको छ । ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) र ब्याक अफिस सिस्टमबीच म्याचिङमा समस्या आएपछि १२ बजेपछि बन्द भएको सेयर बजार सवा ३ देखि सवा ५ बजेसम्मका लागि खुला गरिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले प्रविधिमा नयाँ किसिमको समस्या देखापरेको र समाधान गरेर बजार खुला गरिएको बताए । ‘अहिलेसम्म नदेखको नयाँ समस्या भएकाले केहीबेर अलमल भयो,’ उनले भने, ‘कम्पेन्सेसन हुने गरी सवा ५ बजेसम्म खुला गरेका छौँ ।’
आइतबार कारोबार खुलेदेखि नै सिस्टममा समस्या आएको थियो । लगातार समस्या देखिएपछि १२ बजेपछि सूचना निकालेर कारोबार रोकिएको थियो । कतिपयले बाइ र सेल अर्डरमा राखेको सेयर संख्या दोब्बर र तेब्बर परेको थियो । मल्टिपल इन्ट्री भएपछि खातामा नभएको सेयर बिक्री भए के हुने भन्नेमा लगानीकर्ता तनावमा परेका छन् ।
नेप्सेले भने डबल, ट्रिपल इन्ट्रको अनुमानमात्र भएको र भएकै भए पनि समस्या नहुने बताएको छ । ‘नेप्सेको सिस्टमले खास अर्डर र पछिका अर्डर छुट्याउँछ,’ प्रवक्ता मुराहरि पराजुलीले न्युज कारोबारसँग भने, ‘त्यस्तो भएकै रहेछ भने अरु अर्डर क्यान्सिल हुन्छन् ।’
प्राविधिक रुपमा नेप्सेका प्रणालीहरू बलिया नहुँदा लगानीकर्ताले पटक‑पटक समस्या झेल्दै आएका छन् । नेप्सेले दीर्घकालीन समाधानका लागि पहल भइरहेको बताए पनि समस्या दोहोरिने क्रम रोकिएको छैन ।
यो पनि पढ्नुहोस्
नेप्से प्रमुख भन्छन्‑ टिएमएसमा होइन, नयाँ किसिमको समस्या आयो
प्रकाशित समय १५:३२ बजे

















