गृहपृष्ठ कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पीसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ ।

देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले संक्रमण फैलन नदिन सबै बिरामीको पीसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले कोरोना सङ्क्रमितलाई अन्य बिरामीसँग राखेर उपचार गरेको खण्डमा सो बिरामीबाट अन्य बिरामी र कर्मचारीलाई सर्ने र अवस्था भयावह हुनसक्ने बताए । कोरोनाको उपचार दुई हप्तामा निको हुनसक्ने अवस्थामा निको भइसकेपछि मात्र क्यान्सरको उपचार सुरु गर्दा फरक नपर्ने गौतमले जानकारी दिए ।

‘क्यान्सरका बिरामीलाई कोरोना संक्रमितसँग उपचार गर्दा मृत्युदरमा २५ देखि ३५ प्रतिशतसम्म बढ्ने खतरा हुन्छ, त्यसकारण पनि क्यान्सर उपचारपूर्व कोरोना अनिवार्य परीक्षण गराउनुपर्छ,’ उनले भने । कोरोना प्रमाणित भएका बिरामीलाई कोरोना निको भइसकेपछि मात्रै उपचार गरिने गौतमले बताए ।

अस्पतालले कोरोनाको संक्रमणबाट जोगाउन एक बिरामी एक कुरुवाको नियम अनिवार्य गरेको छ । अस्पतालका आकस्मिक र बहिरंग सेवा नियमित पूर्ववतरूपमा सञ्चालन भइरहेको निर्देशक गौतमले जानकारी दिए । उनले पीसीआर परीक्षण ल्याब केही दिनभित्र सञ्चालनमा ल्याइने तयारी भइरहेको बताए ।

क्यान्सर अस्पतालका मात्रै ४२ स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ पुष्टि भएको छ । तीमध्ये सात जना निको भइसकेका छन् । सामान्य अवस्थामा दैनिक ७०० देखि ८०० बिरामीले उपचार गर्ने क्यान्सर अस्पतालमा अहिले एक चौथाइ बिरामी मात्र उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

प्रकाशित समय ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु