गृहपृष्ठ लिदी पहिरो पीडितलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग
लिदी पहिरो पीडितलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग
पहिरोग्रस्त लिदी गाउँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए )ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २, स्थित लिदीका पहिरो पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर संघका उपाध्यक्ष सोनाम लामाले सहयोग हस्तान्तरण गरेका हुन् ।
उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेको संघको सचिवालयले जनाएको छ । सो अवसरमा उपाध्यक्ष सोनाम लामाले वर्तमान कोभिड- १९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावित भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साटासाट गर्न मात्र आएको उल्लेख गरे । उनले आगामी दिनमा वर्तमान कोभिड- १९ को परिस्थिति सहज भएपछि सरकारसँग समन्वय गरेर जाने बताए ।
गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद दिँदै आगामी दिनहरुमा ठोस योजना बनाएर सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताए । सो कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्वअध्यक्ष श्याम तामाङ, जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरुको सहभागिता थियो ।
जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ । २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्ण रुपमा क्षति पुर्याउँदा १ सय ५६ भन्दा बढी मानीसहरु प्रभावित भएका छन् ।
प्रकाशित समय १७:०१ बजे

















