गृहपृष्ठ धवलागिरिको सुन्दरता र भेडाबाख्रासँगको दैनिकीले बिर्साइदिन्छ हिमबहादुरको दुःख
धवलागिरिको सुन्दरता र भेडाबाख्रासँगको दैनिकीले बिर्साइदिन्छ हिमबहादुरको दुःख
फाइल तस्बिर ।
अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखैअगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको दुई वर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यही भेडीगोठ सम्हालेर बसेका छन् । धवलागिरि आधार शिविरनजिकै पर्ने रुवाचौरको यही आकर्षक फाँटमा छ छन्त्यालको भेडीगोठ । करिब दुईदशक लामो वैदेशिक रोजगारिलाई त्यागेर स्वदेश फर्किएका छन्त्यालले सहरको सुखसयललाई त्यागेर आफ्ना पुर्खाले पसिना बगाएको थलोमा फर्किएका थिए । जिल्लाको धवलागिरि गाउँपालिका- ५, मल्कबाङमा जन्मिएका छन्त्यालको परिवारको बसोबास पोखरामा रहे पनि वैदेशिक रोजगारी त्यागेर फर्किएका उनले आफ्ना पुर्खाहरुले जीवन विताएको जंगल र भिरपाखाहरुको परम्परागत गोठ नै पछ्याउँदै छन् ।
धवलागिरि गाउँपालिका- ५ र रघुगंगा गाउँपालिका- ८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविरमा भेडीगोठ राखेका छन्त्याललाई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले छोएको छैन । सहरी क्षेत्रमा कोरोना नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कनसमेत हम्मेहम्मे पर्ने गरे पनि बस्तीदेखि घण्टौँ टाढाको दूरीमा गोठ राखेका उनको दैनिकीलाई महामारीको प्रभावले छोएको छैन ।
बिहान उठेपछि भेडाबाख्राको संख्या बुझ्ने, दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने उनको नियमित दैनिकी हो । लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनः गोठमै फर्कने बाहेकको अर्काे केही हुँदैन उनको दैनिकी । विकासको तीव्र गतिमा अघि बढेको सिंगापुर र मलेसियामा करिब दुईदशक लामो समय बिताएका ४० वर्षीय छन्त्यालले अहिले दुर्गम र अति विकट क्षेत्रमा गोठको दैनिकीमा आफूलाई घुलमिल गराइसकेका छन् ।
न फोन, न इन्टरनेट नत रेडियोको नै पहुँच छ । अनकन्टार घनघोर जंगल र पहाडहरुमा उनले कठिन तर आफ्नै रहरको दैनिकी बिताइरहेका छन् । ‘वर्षात्, हिमपात, केही भन्न पाइँदैन, गोठालो दैनिकी चलिरहेकै छ, कठिन त अवश्य छ, तर यहाँको प्राकृतिक भू-बनोट, सुन्दर प्रकृति र भेडाबाख्रासँगको दैनिकीले सबै दुःख बिर्साइदिने रहेछ,’ छन्त्यालले अनुभव सुनाए ।
एक/दुई महिनामा गोठको खर्च लिन गाउँ झरेपछि मात्रै बुझ्छन् उनकाले विश्वको गतिविधि । अनि फेरि सुरु हुन्छ आफ्नै दुनियाँ । यो क्रम विगत दुई वर्षदेखि चलिरहेकै छ । विदेशमा आर्जन गरेको रकमसहित ऋणसमेत गरेर दुई वर्षअघि करिब ५० लाख लगानी गरेर भेडापालन सुरु गरेका छन्त्यालको गोठमा अहिले झण्डै ५०० भन्दाबढी भेडाबाख्रा रहेका छन् । आफूबाहेक दुई जना हेरालु राखेका छन्त्यालले आफ्नो पुर्खाहरुले अँगालेको तर पछिल्लो पुस्ताले बिर्सदै गएको भेडापालन पेशालाई अवसर र चुनौती दुवै रुपमा लिएको बताउँछन् ।
‘हिजो हाम्रा पुर्खाले यहीँ पसिना बगाए, कतिको यस्तै गोठमै जीवन बित्यो, तर आज यो पेशा नै संकटमा पर्दै गएको छ, यसलाई नयाँ पुस्ताले अंगाल्न नसक्ने हो भने हाम्रो भेडापालन पेशा नै हराएर जान्छ,’ उनले भने । धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफूले पनि यस पेशालाई अँगालेको छन्त्याल बताउँछन् । पछिल्लोसमय यस क्षेत्रमा रहेका परम्परागत गोठहरु विस्तारै घट्दै गएको, युवाहरुको आकर्षण नबढेको र पुराना गोठहरु पनि बिक्री गर्ने प्रचलन बढेकाले भेडापालन व्यवसायलाई प्रवर्द्धन गर्नका लागि स्थानीय सरकार र सम्बद्ध निकायको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।
यस क्षेत्रमा अहिले करिब आठ वटा भेडीगोठ छन । धवलागिरिको मल्कबाङ, मलम्पार, खिबाङ, मराङ र रघुगंगाको पात्लेखर्क, दुवाडी, रायखोर, पाखापानी, चिमखोला लगायतका व्यक्तिहरुको च्यामली चौर, आधार शिविर, ऋरु, चौराबन, नयाँवन, रिखार र तांगे, भांगे फाँट क्षेत्रमा भेडीगोठ रहेका छन् । धवलागिरिको मुदी र गुर्जामा समेत व्यावसायिक भेडापालन हुदै आएको छ । वेँसीदेखि धवलागिरिका आधार शिविरसम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ । तर यसपटक भने केही गोठहरु आधार शिविर पुगेपछि बीच बाटोमा भिषण पहिरो खसेकाले केही गोठहरु आधार शिविरदेखि तल नै रोकिएको भेडीगोठका हेरालु कालु विकले बताए ।
भेडीगोठको सुरक्षामा कुकुर
हरेक गोठमा कम्तीमा दुई वटा कुकुर छन् । भेडीगोठका हेरालुका लागि कुकुर नै सारथी हुन् । जंगल र पाखा पखेरमा गोठ रहने भएकाले जंगली जनावरबाट भेडाबाख्रा र गोठकोसमेत सुरक्षाको प्रमुख जिम्मेवारी कुकुरकै रहने गर्छ । भेडीगोठमा ‘भोटे’ जातको कुकुरलाई विशेष महत्व दिएर पाल्ने गरिन्छ । आवाज ठूलो हुने, जंगली जनावरसँग समेत नडराउने भएकाले भेडीगोठका लागि भोटे कुकुर पहिलो रोजाइमा पर्छ । गोठमा कुकुरलाई स्याहारसुसार र आहारमा समेत बढी ध्यान दिनुपर्ने गोठालालाई थप जिम्मेवारी हुन आउँछ । गोठदेखि चरन क्षेत्रसम्म कुकुरले नै भेडाबाख्रालाई पछ्याएर जाने गर्छन् भने बेलुकी आफ्नै गोठमा फर्किएर सुरक्षा दिने कुकुरमा थप रोचक विशेषता रहेको हुन्छ ।
गोठमै पुग्छन् व्यापारी
परम्परागत रुपमा भेडाबाख्रापालन गर्दै आएका गोठमा हिजोआज व्यापारी खरिदका लागि गोठमै पुग्ने गर्छन् । चाडपर्वको समयमा ठूलो संख्यामा भेडाबाख्रा बिक्री हुने भए पनि अन्य मौसममा समेत व्यापारी गोठमै आउने भएकाले उत्पादन भएका भेडाबाख्राको बजारीकरणमा समस्या नरहेको छन्त्यालको भनाइ छ । वार्षिक रुपमा २०० को हाराहारीमा भेडाबाख्रा बिक्री हुने उनको भनाइ छ । भेडीगोठको अत्यासलाग्दो दैनिकीलाई सम्हालेका छन्त्यालले भेडीगोठमै व्यापारी आउने भएकाले यस पेशाप्रति थप हौसला थपिएको सुनाए ।
जंगली जनावर र विषाक्त घाँसको जोखिम
भेडाबाख्रापालन गरेका कृषकका लागि हिंस्रक जंगली जनावरको आक्रमण र जंगलको चरन क्षेत्रमा हुने विषाक्त घाँस प्रमुख समस्याका रुपमा रहेको छ । गोठ र चरन क्षेत्रमा हेरालु र कुकुरको नजर छेक्दै चितुवा, स्याल लगायतका जनावरले हरेक वर्ष भेडाबाख्रा मारिदिन्छन् । वर्षेनी पर्ने चट्याङ र चरन क्षेत्रमा हुने विषाक्त घाँस अर्को समस्याका रुपमा रहेको छन्त्यालको भनाइ छ । उनका अनुसार, जंगली जनावरको आक्रमण, चट्याङ लागेर र विषाक्त घाँस खाएर वर्षेनी दर्जनौँ भेडाबाख्राको नोक्सानी व्यहोर्नु परेको छ । बस्तीदेखि टाढा र उपचारको पहुँच नहुने भएकाले भेडाबाख्रालाई रोग लागेको समयमा उपचारमा समेत समस्या हुने गरेको छ ।
भेडाबाख्रापालनलाई प्रोत्साहन गर्न माग
म्याग्दीको धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिक भेडापालन हुँदै आएको छ । परम्परागत रुपमा घुम्ती गोठ राखेर हुँदै आएको भेडापालनलाई थप व्यावसायिक र निरन्तरता दिनका लागि स्थानीय, प्रदेश र संघीय सरकार मातहतबाट प्रोत्साहन गर्नुपर्ने कृषकको माग छ । पुराना गोठ सञ्चालन गरेका कृषकले यस पेशाबाट हात झिक्दै गएका छन् । विकास र सञ्चारका कारण पछिल्लो समय ग्रामीण बस्तीमा समेत सुविधा भित्रिरहँदा गाउँसम्मै सहरी जीवनशैलीको मोह बढेको, युवाको आकर्षण नभएकाले भेडापालन व्यवसाय संकटमा पर्दै गएको पुराना भेडापालक कृषक धवलागिरि गाउँपालिका- ४, खिबाङका खिमदल पुन बताउँछन् । म्याग्दीमा स्थानीय तहहरुले भेडापालनलाई नै प्रवद्र्धन गर्ने विशेष कार्यक्रम कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।
म्याग्दी जिल्लामा अहिले करिब ५० जनाले व्यावसायिक रुपमा भेडापालन गर्दै आएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका प्रमुख नारायण कुसुमका अनुसार जिल्लामा करिब २० हजार जति भेडा पालिएको छ । भेडापालनलाई प्रवर्द्धन गर्न कार्यालयले घुम्ती गोठ सुधार कार्यक्रम, पशु बिमा, मोडल फार्म अनुदान लगायतका कार्यक्रमलाई कार्यान्वयन गर्न लागिएको केन्द्रका प्रमुख कुसुमले जानकारी दिए । (रासस)
प्रकाशित समय १३:२२ बजे

















