गृहपृष्ठ हुम्लाको रोडीकोटमा भीषण आगलागी, ६० लाख बराबरको क्षति

हुम्लाको रोडीकोटमा भीषण आगलागी, ६० लाख बराबरको क्षति

सांकेतिक तस्बिर ।

हुम्लाको सर्केगाड गाउँपालिका ७ रोडीकोटको बाहुनवाडामा हिजो बेलुका सात बजे आगलागी हुँदा ६ घर पूर्ण रुपमा र ७ घर आंशिक रुपमा जल्दा करिब ६० लाख बराबरको क्षति भएको छ ।

सर्केगाड गाउँपालिका ७ रोडीकोट गाउँको बाहुनबाडाका बुधबार आगो बाल्ने क्रममा सल्लाको दियालोबाट सल्केको आगो रोडीकोट, फुचा, राहदेउ, पानीमुल र फकहाल्न गाउँका करिब ५ सयभन्दा बढी स्थानीयहरु र सर्केगाड प्रहारी चौकीबाट आएको एक दर्जन प्रहरीको अथक सहयोगबाट बिहान २ बजेतिर नियत्रणमा लिएको सर्केगाड गापा ७ का अध्यक्ष कृष्ण जैसीले जानकारी दिए ।

उनका अनुसार प्रहरी, स्थानीय जनप्रतिनिधि र जानमानको रोहवरमा मुचुल्का गर्दा ५९ लाख ५५ हजार ६ रुपैँया बराबरको क्षति भएको छ । जसमा हरिभक्त जैसी, जोखे जैसी, अभिलाल जैसी, रुपकला जैसी, मथना जैसी र देवीसिंह जैसी गरी ६ जनाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य  ७ जनाको घर आगोको लप्काले ७० प्रतिशतभन्दा धेरै नष्ट भएको छ ।

घटना लगत्तै बिहीबार बिहान सर्केगाड गाउँपालिकाको आकस्मिक बठैक बसी तत्काल राहत दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए । तत्काल राहतका लागि गाउँपालिकाबाट पीडित घरपरिवारहरुलाई प्रतिघर ६० केजी चामल,४ केजी दाल, २ लिटर तेल, ४ केजी नुन र प्रति व्यक्ति ४/४ थान ज्याकेट दिइने उनले बताए ।

घटना भए लगतै कर्णाली प्रदेश सरकारले पनि तीन महिना पुग्ने खाद्यान्न, पूर्ण घर क्षति भएका परिवारहरुलाई घर निर्माणका लागि एक एक लाख रकम र अन्य कुराहरु उपलब्ध गराइने जानकारी दिएको छ ।

घटनाबारे जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख चिरञ्जीवी गिरीका अनुसार  कर्णाली प्रदेश सरकार र गृह मन्त्रालयमा आवश्यक सम्वन्वय र पहल भइरहेको गाउँपालिका अध्यक्ष रोकायाले बताए ।

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु