गृहपृष्ठ मच्छिन्द्रनाथको रथयात्रा सुरू, पहिलो दिन सोह्रखुट्टे पाटीनजिक पुर्‍याइयो

मच्छिन्द्रनाथको रथयात्रा सुरू, पहिलो दिन सोह्रखुट्टे पाटीनजिक पुर्‍याइयो

‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । दिउँसो ४ः५१ बजे तान्न सुरु गरिएको मच्छिन्द्रनाथको रथलाई आज ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटीनजिकै पुर्‍याइएको हो ।

यस वर्ष कोरोना महामारीका कारण उपस्थित सबैले सामाजिक दूरी कायम गरेका थिए । एकै किसिमको निलो टोपी र गन्जी, मुखमा मास्क, हातमा पञ्जा लगाई दुई तिर बसेर शान्त्त पूर्वक रथ तानिएको पुचःका संयोजक चन्द्र महर्जनले बताए । ‘हामीले मूलुकमा कोभिड संक्रमण बढ्दै जाँदा आवश्यक मानिसलाई मात्र रथयात्रा गर्न लगायौँ,’ उनले भने । रथयात्रालाई विधि पूर्वक काँसहित विभिन्न बाजा बजाइएर सम्पन्न गरिएको महर्जनले जानकारी गराए ।

रथयात्रामा सहभागी मानिसले खुसीका साथ पहिला हात हल्लाएर ‘होस्टे, हैंसे’ शब्दको उच्चारण गरी बल लगाएर रथलाई विस्तारैविस्तारै तानेर पाटीनजिकै पुर्‍याएका महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, ‘रथयात्रा गर्न उपस्थित सहभागीले बेला बेलामा रथ तान्ने र समय समयमा नाच्ने गरेको दृष्यले पुल्चोकमा एकदमै मनमोहक भयो ।’ मच्छिन्द्रनाथको रथमा राता, सेता ध्वजाका साथै माथिल्लो गजुरमा सबै प्राणीको रक्षा गर्ने श्री लोकेश्वरको षड्क्षरी मन्त्र ‘ॐ मणि पद्मे हुँ’ लेखिएको ध्वजासमेत खुबै फरफराएको महर्जनले जानकारी गराए ।

उक्त रथयात्रामा केही प्रदेश तथा प्रतिनिधिसभाका सांसद पम्फा भुषाल, राजकाजी महर्जन र शोभा शाक्य सहभागी भएका थिए । सोह्र खुट्टे पाटी नजिकै रहेका घरघरका मानिसले भने घरघरैबाट रथयात्राको आनन्द लिइरहेका थिए । लोकेश्वरनजिकै रथमा केही मानिस र पानेजु बसेका देखिन्थे । सुरक्षा व्यवस्था अति नै कडा थियो । गाःबहालबाट महानगरपालिकाको गेटसम्म करिब ५०० मिटर मीननाथको रथयात्रा पनि सम्पन्न भयो । लोकनाथ र मीननाथको दुवै रथयात्रा गर्न मानिस उपस्थित भएका थिए । रथयात्रा सम्पन्न भएपश्चात पाटनवासीले घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी गराए ।

यसवर्ष रथयात्रा छेउमा महिला भने देखिएका थिएनन् । पुल्चोकमा उपस्थित सीमित मानिस, पुजारी, सञ्चारकर्मी, सुरक्षाकर्मीले मात्र यस वर्ष प्रत्यक्ष रुपमा रथयात्रा हेर्न मौका पाएका देखिन्थे । विगतका वर्षमा मच्छिन्द्रनाथको रथलाई गाःबहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्‍याउएर शुभ साइतअनुसार भोटो जात्रा गर्ने गरिन्थ्यो । यसपटक भने त्यसो नगरिने भएको भदौ १८ गते १९ औं जातिय खलः पुचले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको थियो ।

आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा बिराजमान गराइएको थियो । विसं ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन सुरु गरिएको थियो ।

किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । (रासस)

प्रकाशित समय १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु