गृहपृष्ठ ‘आइसीटी अवार्ड- २०२०’को छनोट प्रक्रिया सुरू

‘आइसीटी अवार्ड- २०२०’को छनोट प्रक्रिया सुरू

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसीटी अवार्डको पाँचौं संस्करणका लागि विजेताहरू छान्ने प्रक्रिया सुरू भएको छ । गत असार ८ देखि भदौ १५ गतेसम्म खुला गरिएको अवार्डको अनलाइन नोमिनेशनमा गत वर्षभन्दा दुई गुणा बढी करिब ३ सय जनाको आवेदन परेको छ ।

कोभिड- १९ को महामारी र लकडाउनको बाबजुद पनि अवार्डमा देखिएको उत्साहले सूचना प्रविधि क्षेत्रमा सम्भावना र अवसरको खोजी भइरहेको अनुभव गर्न सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । अवार्डमा यस वर्ष विभिन्न ११ विधाका लागि अनलाइन आवेदन खुला गरिएको थियो । स्टार्टअप आइसीटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसीटी अवार्डमा सबैभन्दा धरै नोमिनेशनहरू प्राप्त भएका छन् । सबै विधाहरूमा गत वर्षभन्दा अहिलेको नोमिनेशन उत्साहजनक रहेको आयोजकले बताएको छ ।

स्टार्टअप आइसीटी अवार्ड, प्रडक्ट आइसीटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसीटी अवार्ड र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसीटी अवाडर्, सेल्फ नोमिनेशनका विधाहरू रहेका छन । यसैगरी पायोनियर आइसीटी अवार्ड, नेपाली डायस्पोरा आइसीटी अवार्ड, आन्टरप्रेनर आइसीटी अवार्ड, वुमन आइकन आइसीटी अवार्ड र मिडिया पर्सन आइसीटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । डिजिटल गभर्नेन्स आइसीटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसीटी अवार्ड सामुदायिक शैक्षिक संस्थाहरूलाई प्रदान गरिने अवार्ड विधाहरू हुन् । इन्नोभेसन र वुमन आइकन यस वर्ष थप गरिएका नयाँ अवार्ड विधाहरू रहेको आयोजकले जनाएको छ ।

आइसीटी अवार्ड २०२० को लागि १४ जना विभिन्न क्षेत्रका विज्ञहरू जुरी समितिमा र १२ जना विशिष्ट व्यक्तिहरू जुरी सल्लाहकारमा रहेका छन् । आयोजकले गत बुधबार जुरी र जुरी सल्लाहकारहरूको पहिलो संयुक्त भर्चुअल मिटिङ सञ्चालन गर्दै अवार्डको छनोट प्रक्रियाहरू अघि बढाएको छ । आयोजकका अनुसार विभिन्न ११ विधालाई यस वर्ष ३ समूहमा विभाजन गरी छनोट प्रक्रिया सुरू भएको छ ।

सन् २०१६ देखि सुरू भएको आइसीटी अवार्ड नियमित रूपमा १७ अगष्टमा हुने गर्दथ्यो भने यस वर्ष कोरोनाको कारण केही महिनापछि सरेको हो । आयोजकले अवार्डको फिनाले कार्यक्रम डिसेम्बर महिनामा राखेको जनाएको छ ।

प्रकाशित समय १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु