गृहपृष्ठ नेताकै संरक्षणमा रहेका कार्यकर्ताद्वारा कुटिन्छन् पत्रकार, प्रहरी बन्छ मुकदर्शक

नेताकै संरक्षणमा रहेका कार्यकर्ताद्वारा कुटिन्छन् पत्रकार, प्रहरी बन्छ मुकदर्शक

सञ्चारकर्मीहरुको काम हो जनतालाई सुसूचित गर्ने, अन्याय अत्याचारका विरुद्ध आवाज उठाउने । नागरिकका आवाजहरुलाई सम्बन्धित पक्षसम्म पुर्‍याउने काम सञ्चारकर्मीले गरेको हुन्छ ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा भने २/३ महिनाको अन्तरालमा एकपटक पत्रकारहरुले सडकमा आउनैपर्ने अवस्था हुन्छ । पत्रकारहरुमाथि पटक-पटक आक्रमण हुने तर आक्रमणकारी हप्तौँसम्म पक्राउ नपर्ने परिपाटी कैलालीमा कायमै छ । राजनीतिक कार्यकर्ता पत्रकारमाथि आक्रमण गर्छन् । तिनै कार्यकर्ताको बचाउमा नेता दगुर्छन् । नेताकै लागि प्रहरीले आक्रमणकारीलाई पक्राउ पनि गर्दैनन् ।

२०७४ साल मंसिर २ गते बर्दगोरिया गाउँपालिका २ घर भएका पत्रकार लक्ष्मी जैशीमाथि आक्रमण भएको थियो । तत्कालीन समयमा जनता टेलिभिजनका कैलाली संवाददाता रहेका जैशीलाई राति १२ बजे उनकै घरमा आक्रमण गरिएको थियो । जैशीलाई कुटपिट गरी घाइते बनाउनेहरु अहिलेसम्म पनि पक्राउ परेका छैनन् । त्यसैगरी डेढ वर्षअघि एसटीएस टेलिभिजनका समाचार प्रमुख लोकेन्द्र बिष्टमाथि कार्यालयबाट घर जाने बेला सामूहिक आक्रमण भयो । उनलाई आक्रमण गर्नेहरुलाई पनि अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

दिनेश सञ्चारगृहका सहसम्पादक रहेका जनक बिष्टमाथि पटक-पटक आक्रमण भइरहेको छ । समाचार संकलनकै क्रममा विष्ट धेरै पटक आक्रमणको शिकार भइसकेका छन् । केही आक्रमणकारी राजनीतिक पहुँचका आधारमा पक्राउ नै परेनन् त पक्राउ परेका पनि पहुँचकै आधारमा छुटे ।

केही महिना पहिले मात्र कान्तिपुर दैनिकका पत्रकार गणेश चौधरीमाथि कैलालीको टीकापुरमा कुटपिट भएको थियो । तर, पत्रकार र सञ्चार गृहमाथि आक्रमण हुँदासमेत सरोकारवाला निकाय गम्भीर नबन्दा सोही प्रकृतिका घटना दोहोरिँदै जान थालेका छन् ।

शुक्रबार दिउँसो करिब १२ बजेको समयमा दिनेश सञ्चार गृहमा प्रवेश गरी एउटा समूहले सांघातिक हमला गर्‍यो । सञ्चार गृहको समाचार कक्षमा काम गरिरहेको अवस्थामा सहसम्पादक जनक विष्टसहितका पत्रकार र व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिंहमाथि कुटपिट र दुर्व्यवहार गरिएको थियो ।

दुर्व्यवहार गर्ने सबै भिडियोमा देखिन्छन् तर, अहिलेसम्म उनीहरु कसैलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । पत्रकार र सञ्चार गृहमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ नगर्दा कैलालीका पत्रकार सडकमा उत्रेका छन् । पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले पत्रकार र सञ्चार गृहमाथि आक्रमण गर्नेलाई कारबाही नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रहरीलाई उद्धृत गर्दै प्रकाशित गरिएको समाचार हटाउन भन्दै दिनेश सञ्चार गृहमा पुगेको समूहले आक्रमण गरेको थियो । आक्रमणमा संलग्न व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिए पनि हालसम्म प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको छैन ।

पत्रकार महासंघ कैलालीले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको छ । पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै पत्रकारहरु सडकमा उत्रेका हुन् । देशमा गणतन्त्र स्थापनामा समेत पत्रकारहरुको मुख्य भूमिका रहेको भन्दै पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्यालले यस्तै गतिविधिले कलम बन्द होला भन्ने मुर्खता नगर्न चेतावनी दिए ।

पत्रकारहरु समाचार लेखेकै भरमा कुटिने र कुट्नेहरुको पहिचान भइसके पनि पक्राउ नपर्ने हुँदा आक्रमणले बढावा पाएको छ । झन् पत्रकारमाथि आक्रमण गर्नेहरुलाई राजनीतिक संरक्षण हुँदा यो अवस्था सिर्जना हुन थालेको हो ।

समाजको ऐना मानिएको पत्रकारलाई यसरी आक्रमण भइरहँदा समाजका मुद्दा पनि ओझेलमा पर्ने पत्रकारहरुको ठम्याई‌ं छ । यसरी पत्रकारमाथि हमला भइरहँदा जिल्लामा मात्रै नभएर यो घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमले बताए ।

सञ्चारकर्मीले गलत समाचार लेख्यो अथवा आफ्नो पक्षमा समाचार लेख्यो भन्दै पटक-पटक आक्रमण भइरहेको छ । समाचार नै गलत भए कानुनी उपचारको बाटो हुँदाहुँदै पनि यहाँ गुण्डागर्दी मौलाएको र यस्तो गुण्डागर्दी मौलाउनुमा राजनीतिक संरक्षण दिने नै मुख्य दोषी भएको महासंघले जनाएको छ ।

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु