गृहपृष्ठ लगातार १२५ घण्टा पढेका मुकेशले अझै पाएनन् गिनिज बुक रेकर्डको प्रमाण पत्र

लगातार १२५ घण्टा पढेका मुकेशले अझै पाएनन् गिनिज बुक रेकर्डको प्रमाण पत्र

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन लगातार पाँच रात छ दिन किताब पढेका बझाङका मुकेशराज जोशीले एक वर्ष पुग्न लाग्दा पनि प्रमाणपत्र पाएका छैनन् । गत असोज ६ गते पूर्व उपप्रधानमन्त्री भीम रावलसमेत उपस्थिति कार्यक्रममा ११ बजेर ४० मिनेटमा पढ्न सुरु गरेका जोशीले १० गते साँझ ४ बजेरसम्म पढेर कीर्तिमानी कायम गरेका थिए ।

‘नेपाललाई विश्वसामु चिनाउनका लागि रातदिन पढेर योभन्दा अगाडिका कीर्तिमानीलाई ब्रेक गरेको थिएँ । तर, एक वर्ष बित्न लागिसक्यो प्रमाणपत्र पाएको छैन,’ जोशीले भने । उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउनका लागि १२४ घण्टा ३० मिनेटसम्म किताब पढेर कीर्तिमानी कायम गरेका थिए ।

‘विभिन्न मिडियाले अन्तर्वार्ताका लागि बोलाउँछन् । तर, आफूसँग प्रमाण पत्र नभएकाले जान पनि लाज लाग्ने अवस्था आएको छ,’ उनले दुखेसो पोखे । जोशीले नाइजेरियाली नागरिक बयोडे ट्रिअर्सस ओलाबान्मीको रेकर्ड ब्रेक गरेका थिए । ओलाबान्मीले सन् २००८ मा १२० घण्टा पढेर कीर्तिमानी कायम गरेका थिए ।

गिनिज इभेन्टस् नेपाल अध्यक्ष सन्तोष लामा भन्छन्, ‘मुकेश भाइको प्रमाण पत्रका लागि पहिले नै काम भइसक्थ्यो । बिचमा कोरोना भाइरसको महामारीका कारण कारण हेड अफिसबाट अहिले कुनै डकुमेन्टहरु नपठाउनु भनेकाले ढिलाई भएको हो । अब भोलिपर्सि नै सम्पूर्ण कागजातहरु पठाउने तयारीमा छु । कागजात तयारी भइसकेका छन् ।’

उनका अनुसार फास्ट ट्र्याकबाट पठाएमा झण्डै एक लाख जति नेपाली रुपैयाँ खर्च हुन्छ । र छिटो पनि हुन्छ । बिस्तारै पठाएमा १२ हप्ता जति लाग्छ र हेड अफिसमा सबै प्रमाणहरु हेरेर प्रमाण पत्र दिन्छन् । ‘मुकेश भाइको प्रमाण पत्रका लागि भोलिपर्सि नै प्रमाणहरु पठाएर १२ हप्तापछि प्रमाण पत्र आउँछ,’ लामाले भने ।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु