गृहपृष्ठ ‘आफू दलित भएकै कारण निर्मलाले प्रेमी गुमाइन्, वियोगको पीडामा ज्यान फालिन्’
‘आफू दलित भएकै कारण निर्मलाले प्रेमी गुमाइन्, वियोगको पीडामा ज्यान फालिन्’
निर्मलाको शव भेटिएको स्थल
भनिन्छ, माया-प्रेम भनेको अन्धो हुन्छ । मायाका खातिर सारा संसार त्याग्न तयार हुन्छन् प्रेमिल मनहरु । बाँकी संसार र सम्बन्धहरुका अगाडि मायाकै पल्ला भारी हुन्छ । माया गर्ने मान्छेबाहेक अरू केही हुन्न उनीहरूका लागि । बरु दुनियाँतर्फ पीँठ फर्काउँछन्, आफ्नो प्रेमलाई आत्मसात् गरेरै छाड्ने प्रण गर्छन् ।
तर, बिचमा आउने विविध व्यवधानहरुका कारण कतिपय ‘मायाका कथाहरु’ वियोगान्त पनि बन्छन् । अनि त, समाजमा नसोचिएका घटनाहरु घटेका छन् । मन वैरागिएका छन्, ज्यानै गएका छन् । सुदूरपश्चिमको कैलालीमा केही दिनअघि घटेको एउटा घटनामा पनि मायापिरती नै कारक रहेको अनुमान गरिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालित कैलाली एफएममा कार्यरत निर्मला पहराई शुक्रबार मृत भेटिइन् । ३ दिनदेखि बेपत्ता उनको शव घोडाघोडी नगरपालिका- ५ स्थित फूलबारी सामुदायिक वनको रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । २३ वर्षीया निर्मलासँग प्रेम सम्बन्ध रहेको खुलेपछि प्रेमी भनिएका ललित जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितको अर्कै प्रेमिका रहेको थाहा पाएपछि निर्मलाले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार घटना भएको दिन निर्मला ‘ललितकोमा जान्छु’ भनेर घरबाट हिँडेकी थिइन् । सोही कारण ललितलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
ललितकी प्रेमिका भनिएकी युवतीसँग निर्मलाको सामान्य झगडासमेत भएको स्थानीयहरुले बताएका छन् । ललितकोमा जान्छु भनेर हिँडेको साँझ निर्मलाले आफ्नो एक साथीलाई ‘ललितको अर्कै प्रेमिका रहेछ, उनीहरुसँग मेरो झगडा भयो’ भनेको निर्मलाका दाई विशाल पहराईले बताएका छन् । उनका अनुसार सुरुमा ललितले ‘निर्मला दलित समुदायको हो’ भन्ने थाहा नपाएकै कारण उनीसँग प्रेम गरेका थिए । विशालका अनुसार ललित र निर्मला सँगसँगै हिँड्थे । ललित जाग्रीले केही समय निर्मलासँगै कैलाली एफएममा काम गरेका थिए ।
निर्मला ६ महिनाअघि धनगढीमा गठन भएको दलित पत्रकार संघको सुदूरपश्चिम प्रदेशको सहसचिव बनेकी थिइन् । त्यही बेलादेखि ललितले निर्मलालाई छोड्न खोजेको विशालको भनाइ छ । उनका अनुसार ललितले निर्मला दलित भएको थाहा पाएपछि अर्की युवतीसँग प्रेम सम्बन्ध सुुरु गरेका थिए ।
निर्मलाको हत्या भएको उनका परिवारका सदस्यहरुको आरोप छ । हत्या गरी झुन्ड्याइएको उनका दाजुले दाबी गरे । ‘शव हेर्दा पनि थाहा हुन्छ । त्यो आत्महत्या होइन, हत्या हो । मेरी बहिनीको हत्या गर्नेलाई कडा कारबाही हुनुपर्छ,’ उनले भने ।
निर्मलाको शव अहिले पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । तर, घटनाको छानबिन नभएसम्म पोस्टमार्टम गर्न नदिने पीडित पक्षले अडान लिएका छन् ।
नागरिक समाजद्वारा छानबिन माग
निर्मलाको मृत्यबारे निष्पक्ष छानबिन हुनुपर्ने कैलालीका विभिन्न नागरिक समाजको माग छ । दलित संघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण नेपाल, मिसन अम्बेडकर र राष्ट्रिय दलित नेटवर्कले शनिबार साझा विज्ञप्ति जारी गर्दै घटनाका संलग्नहरूलाई कारबाहीको माग गरेका छन् । दोषीमाथि कारबाही नभए आन्दोलन गर्नेसमेत विज्ञप्तिमा चेतावनी दिइएको छ ।
ईलाका प्रहरी कार्यालय कैलालीका प्रमुख डीएसपी सागर बोहराले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘हामीले गर्नुपर्ने सबै गरिरहेका छौँ । पीडित पक्षबाट अहिलेसम्म उजुरी आएको छैन । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिसँग सोधपुछ भइरहेको छ,’ उनले बताए ।
प्रकाशित समय १७:५६ बजे

















