गृहपृष्ठ महिला नेतृत्व बढाउनुभन्दा टिकाउनु चुनौती : मन्त्री अर्याल
महिला नेतृत्व बढाउनुभन्दा टिकाउनु चुनौती : मन्त्री अर्याल
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिलाको नेतृत्व बढाउनु मात्र नभई टिकाउनु पनि आजको चुनौती भएको बताएकी छन् । सामाजिक सेवा दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघले शुक्रबार जुममार्फत आयोजना गरेको सामाजिक क्षेत्रमा महिलाको भूमिका विषयक बहस कार्यक्रममा उनले साे कुरा बताएकी हुन् ।
मन्त्री अर्यालले महिलालाई नेतृत्व तहमा ल्याउनु मात्र नभई उनीहरुको आर्थिक विकास आजको प्रमुख आवश्यकता भएकाे औंल्याइन् । महिलाको आर्थिक विकास नभई समाजमा समानता आउन नसक्ने उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला राईले नेपालको संविधानमा महिलाको ३३ प्रतिशत नेतृत्व सुनिश्चित गर्नुअघि नै महासंघले यो अवधारणालाई कार्यान्वयनमा ल्याइसकेको उल्लेख गरे । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा जैरुले महासंघले आफू सुरुदेखि नै क्रियाशील रहेकाले यही संस्थामार्फत नेतृत्वमा पुगेको गर्व व्यक्त गरिन् । सुदूरपश्चिम प्रदेशसभाका सांसद पूर्णा जोशीले महिलाको सहभागिता र उनीहरुको सोचबिना समुन्नत समाजको परिकल्पना समेत गर्न नसकिने तर्क राखिन् ।
सो अवसरमा वन तथा वातावरण मन्त्रालयको जलवायु महाशाखाका प्रमुख डा. राधा वाग्लेले हरेक सामाजिक काममा महिलाको भूमिका र योगदान महत्वपूर्ण रहेको बताइन् । उनले भनिन्, ‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’
समाज कल्याण परिषदका सदस्य डा. मणिराम बन्जाडेले महासंघले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा महिलाको नेतृत्व बढाउँदै लगेको बताए । महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले महिलामैत्री नीति बनाउन तीनै तहका सरकारलाई आग्रह गरिन् । (रासस)
प्रकाशित समय १८:३९ बजे

















