गृहपृष्ठ कोरोनाले यसरी संकुचित भयो अर्थतन्त्र

कोरोनाले यसरी संकुचित भयो अर्थतन्त्र

Covid-19 Aid_NewsKarobar

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रण गर्ने भनेर करिब ६ महिनासम्म लकडाउन र त्यसभन्दा अलि कडा प्रकृतिका निषेधाज्ञा लगाइयो । त्यसका प्रभावले नेपालका आर्थिक-सामाजिक क्षेत्रमा कहाँ-कहाँ कति गहन असर पर्‍यो भन्ने विषयमा अझैसम्म विस्तृत अध्ययन भएका छैनन् ।

नेपाल राष्ट्र बैंक उपलब्ध केही आर्थिक सूचकहरूका आधारमा बाह्य व्यापार, सरकारको पुँजीगत खर्च र बैंकिङ क्षेत्रको कर्जा लगानीमा बढी असर परेको जनाएको छ । चैतदेखि साउनसम्मको ५ महिनाको अवधिमा देशको आयात व्यापार गत वर्षको समान अवधिका तुलनामा ४५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०७५ चैतदेखि २०७६ साउनसम्म कुल ५ खर्ब ७६ अर्ब ७० करोड रूपैयाँबराबरका वस्तु आयात भएकोमा लकडाउन अवलम्बन गरिएको २०७६ चैतदेखि २०७७ साउनसम्म ३ खर्ब १५ अर्ब रूपैयाँको मात्र वस्तु आयात भएको राष्ट्र बैंकको विवरणबाट देखिन्छ ।

कोभिड-१९ महामारीका कारण आर्थिक गतिविधि प्रभावित हुँदा औद्योगिक कच्चा पदार्थ, ईन्धन, पुँजीगत वस्तु, यातायातका साधन तथा पार्टस् लगायतका वस्तुहरुको आयात घटेको राष्ट्र बैंकका विवरणले देखाउँछ । यस्ता वस्तुहरूको आयात घट्नु र सँगसँगै निजी क्षेत्रका कर्जा माग घट्नु र सरकारले समेत पुँजीगत खर्च गर्न नसक्नु अर्थतन्त्रमा मन्दीका सूचक हुन् ।

राष्ट्र बैंकका अनुसार औद्योगिक कच्चा पदार्थको आयात ५९.५६ प्रतिशतले, पुँजीगत वस्तुको आयात झन्डै ४२ प्रतिशतले र यातायातका साधन, पार्ट्स तथा अन्य सामानको आयात झन्डै ६५ प्रतिशतले घटेको छ ।

२०७५ चैतदेखि २०७६ साउनसम्म कुल कुल २ खर्ब ७ अर्ब ५० करोड रूपैयाँबराबरका औद्योगिक कच्चा पदार्थ भएकोमा लकडाउनयता २०७६ चैतदेखि साउनसम्म ८३ अर्ब ९० करोड  रूपैयाँको मात्र आयात भयो भने २०७५ चैतदेखि २०७६ साउनसम्म कुल कुल ८७ अर्ब रूपैयाँबराबरका पुँजीगत सामान आयात भएकोमा लकडाउनयता २०७६ चैतदेखि साउनसम्म २९ अर्ब ५० करोड  रूपैयाँको मात्र आयात भयो ।

सरकारले लकडाउनयतका पाँच महिनामा जम्मा ९५ अर्ब रूपैयाँमात्र पुँजीगत खर्च गर्नसक्यो, त्यो पनि असारमा निकासा गरिएको ६५ अर्ब २० करोड रूपैयाँ जोड्दामात्र यो अनुपात देखिएको हो । साउनमा नगद प्रवाहमा आधारित सरकारको पुँजीगत खर्च जम्मा १० करोड रूपैयाँमात्रै रह्यो, २०७६ साउनमा यो रकम ६० करोड रूपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार लकडाउनयता असारमा बाहेक निजी क्षेत्रतर्फा जाने कर्जा पूरै ऋणात्मक भएको छ, यसको अर्थ बैंकिङ क्षेत्रबाट निजी क्षेत्रलाई कर्जा नै प्रवाह भएन । यो अर्थतन्त्रमा मन्दी आएको मूल सूचक हो ।

प्रकाशित समय १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु