गृहपृष्ठ डलर देखाई रकम लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ
डलर देखाई रकम लुटपाट गरेको अभियोगमा पाँच जना पक्राउ
सूर्यबिनायक नगरपालिका- २, बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैयाँ लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका- १ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ३ घर भएका ३६ वर्षीय खेल बहादुर तामाङ, ३३ वर्षीय रेल बहादुर तामाङ, भक्तपुर मध्यपुर ठिमी नगरपालिका- ९ बस्नेहरु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ६ घर भएका ५६ वर्षीय श्याम बहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङ रहेका छन् ।
लुटपाटको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका- ९ बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २ लाख ४२ हजार ९ सय ३५ रुपैयाँ, ५ थान मोबाइल, २ थान मोटरसाइकल र २ बण्डल डलर भनी झुक्काउन तयार गरिएको कागजको बिटोसमेत प्रहरीले बरामद गरेको हो । साथै गत साउन ८ र १९ गते मध्यपुर ठिमी नगरपालिका- ९ र ५ बाट ७ लाख रुपैयाँ, २०७७ भदौ ३१ गते मध्यपुर ठीमी नगरपालिका- २ बाट ५ लाख रुपैयाँ, २०७७ असोज ६ गते मध्यपुर ठिमी नगरपालिका- ९ बाट ९ लाख ८० हजार रुपैयाँ नगद लुटपाट भएको घटनामा समेत उनीहरुको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको तथा अन्य लुटपाटका घटनामा संलग्न रही फरार रहेका अन्य व्यक्तिहरुको खोजी गरिरहेको उक्त परिसरले जनाएको छ ।
प्रकाशित समय १७:५४ बजे

















