गृहपृष्ठ विश्व पर्यटन दिवसको अवसरमा एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउँदै रामजी नेपाली

विश्व पर्यटन दिवसको अवसरमा एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउँदै रामजी नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनेथिए । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उनको विश्वयात्रा भने अपर्झट रोकियो । भारतका सात प्रान्त घुमेर बंगलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किनुपर्‍यो ।

विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्किएका उनको यस वर्ष बंगलादेश, श्रीलंका, माल्दिभ्स लगायतका देश पुग्ने योजना थियो । कोरोनाले निम्त्याएको विषम स्थितिका कारण उनको विश्वयात्रा अहिले स्थगनमा छ, फेरि कहिले सुरु हुन्छ ठेगान छैन ।

बागलुङ नगरपालिका- ६, भीरलांखुरीका ४१ वर्षीय उनको सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य थियो । कोरोनाकै कारण अब यात्राको त्यो योजना र लक्ष्य पछि धकेलिने निश्चित छ । ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित उनी विश्व यात्रामा हुनेथिए ।

‘स्थिति प्रतिकूल हुँदा पनि मैले कुनै तनाव लिइनँ, यो समयको मैले राम्रो सदुपयोग गरेँ,’ उनले भने, ‘अहिले म ६५ देशका राष्ट्रगान गाउन सक्ने भएँ, आउँदो डेढ/दुई वर्षभित्र १९४ देशकै राष्ट्रगान गाउँछु ।’ नेपालीले अहिले पूर्वी युरोपेली देश अलबानियाको राष्ट्रगान सिकिरहेका छन् । बन्दाबन्दी र निषेधाज्ञाको समय सिर्जना र साधनामा बिताएको उनले सुनाए । यसबीचमा नेपालीले बागलुङ र म्याग्दीका कैँयन नयाँ ठाउँको घुमफिरसमेत गरे । यात्राका क्रममा नेपालीले नै पहिलोपटक पहिचान गरेका बागलुङ नगरपालिका- ७ र ६ को सीमास्थित ‘बुद्ध हिल’ अहिले पर्यटकीय आकर्षणका रुपमा चिनिन थालेको छ ।

भाइचारा र सद्भावनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रगान गाउँदै विश्वयात्रामा हिँडेको नेपालीले बताए । ‘सानैदेखि केही न केही नयाँ काम गर्ने हुटहुटी चल्थ्यो, त्यसकै उपज हो यो विश्वयात्रा पनि,’ उनले भने । ‘विश्वयात्रा’को समापन सगरमाथा आधार शिविरमा गर्ने नेपालीको सपना छ । हालसम्म उनले भारत, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्याण्डको भ्रमण गरिसकेका छन् । ‘पहिलो विदेश यात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु गरेँ, प्रवासी नेपालीहरुसँगको समन्वयमा युरोप पुगेँ,’ उनले भने ।

उनले आइफिल टावरमा पुगी फ्रान्सको राष्ट्रगान गाएको स्मरण गरे । बेल्जियम, स्पेन र नेदरल्याण्डका विभिन्न शहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको नेपालीले बताए । ‘जुन देश पुग्छु पहिले नेपालको राष्ट्रगान गाउँछु अनि सम्बन्धित देशको,’ उनले भने । नेपालीले भारत पुग्दा चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्म यात्रा गरेका थिए । ‘भारतमा झण्डै चार महिना बिताएँ, नेपाली समुदाय रहेका धेरै ठाउँमा औपचारिक/अनौपचारिक कार्यक्रम भए,’ उनले भने, ‘एकै ठाउँमा चार/पाँच वटासम्म राष्ट्रगान गाएँ ।’

बुद्ध र सगरमाथाको देशका रुपमा नेपालको चिनारी बोकेर विदेश पुग्दा गौरवबोध भएको नेपालीले सुनाए । चाँडै स्थिति ठिकठाक भएर आफ्नो विश्वयात्रा फेरि सुरु हुनेमा उनी आशावादी छन् । विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नलिइ आफ्नै खर्चमा हिँडेको उनको भनाइ छ । ‘विस्तारै सहयोगको माहोल पनि बन्ला गर्दै जाऔँ, हेर्दै जाऔँ,’ नेपालीले भने । उनले ‘गुगल’, ‘युट्युव’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्र्याक’ खोज्छन् । आवश्यक पर्दा दूतावासबाट समेत सहयोग लिने गरेको उनको भनाइ छ । ‘१९४ देशकै राष्ट्रगान र तिनका ट्र्याक संकलन गरिसकेको छु,’ नेपालीले भने ।

संसारका विभिन्न भाषामा बनेका राष्ट्रगान सही ढंगले गाउनु चुनौतीपूर्ण विषय भएको उनको अनुभव छ । ‘संगीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउने सक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ,’ नेपालीले भने । उनले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्छन् ।

यसैबीच, विश्व पर्यटन दिवसको सन्दर्भमा यही असोज ११ गते गायक नेपालीले एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउने कार्यक्रम तय गरिएको छ । कोरोना संकटका बेला विश्व एकता र भातृत्वको सन्देश दिने उद्देश्यले सो कार्यक्रम राखिएको आयोजक नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए ।

नेपालीले पहिलोपटक एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउन लागेका हुन् । यसअघि गत फागुनमा गलकोट नगरपालिका- ५, टेउमामा भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा उनले नेपालसहित ११ देशका राष्ट्रगान गाएका थिए ।

नेपालीले जापान, इटाली, चीन, युक्रेन, क्यानाडा, इजरायल, ब्राजिल, फ्रान्स, ताइवान र भारतको राष्ट्रगान गाउँदा कार्यशालामा सहभागी सम्बन्धित देशका मूर्तिकारहरुले आफ्नो राष्ट्रगानको सम्मान गरेका थिए । झण्डै २५ वर्ष नेपाली गीत, संगीतमा बिताएका नेपालीका ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भीरको टुनी’लगायत गीत सार्वजनिक छन् । (रासस)

प्रकाशित समय १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु