गृहपृष्ठ चाडपर्वको मुखमा पहिरो पीडित : सडक किनारमा त्रिपालमुनि बास
चाडपर्वको मुखमा पहिरो पीडित : सडक किनारमा त्रिपालमुनि बास
करिब २ महिनाअघि पहिरोले घर नै बगाएर ‘सडकवासी’ बनेका चुरेबासीले अहिलेसम्म कुनै राहत पाउन सकेका छैनन् । कैलालीको चुरे गाउँपालिका- ५ पट्रेनीका करिब ३० परिवार र गुँडी गाउँका गरी ४० परिवार सडकमा बसिरहेका छन् । पहिरो कसैको घर बगाएर त कसैको घर पहिरोको उच्च जोखिममा परेपछि उनिहरु सडकमा पुगेका हुन् ।
सडक छेउलाई नै सुरक्षित स्थान ठानेर उनीहरु त्रिपाल हालेर बसेका छन् । पीडितमध्ये केही नजिकैको जंगलमा समेत त्रिपाल हालेर बसिरहेका छन् । चुरे गाउँपालिका- ५ खानीडाँडा बजारनजिक राजमार्ग छेउमा ४० परिवार त्रिपालमुनि बसिरहेका हुन् । स्थानीय तहबाट त्रिपाल मात्रै पाएका पहिरोपीडितले अहिलेसम्म अन्य कुनै राहत तथा स्थायी बसोबासको बन्दोबस्त त परै जावोस्, आश्वासनसमेत पाएका छैनन् ।
पहिरोले घर तथा जमिन बगाएपछि विस्थापित बनेका उनीहरुलाई अहिलेसम्म कुनै निकायबाट राहत उपलब्ध भएको छैन । उनीहरुको वैकल्पिक व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यान पनि जान सकेको छैन । घरसँगै खेत पनि बगिसकेपछि उनीहरु सडकमा पुगेका हुन् । खेती गरेरै गुजरा चलाउने उनीहरुलाई अहिले दैनिक छाक टार्न मुस्किल परेको छ । कोही घरमा रहेका खुसी बाख्रा बेचेर त कोही ऋण लिएर दैनिक छाक टारिरहेका छन् । अहिलेसम्म त्रिपालबाहेक केही नपाएका उनीहरुले वैकल्पिक व्यवस्थापनसँगै राहतको माग गरिरहेका छन् ।
चुरे गाउँपालिका- ५ का हरजित धामीको घर पहिरोले बगाएको दुई महिना पुग्नै लागेको छ । श्रीमतीसहित छोराछोरीसँग उनी जंगलछेउ त्रिपालमुनि रात काटिरहेका छन् । गाउँपालिकाबाट त्रिपाल मात्रै पाएका हरजितलाई केही राहत पाइन्छ कि भन्ने आस भने मरेको छैन । तर, पहिरोले विस्थापित बनेको दुई महिना पुग्नै लाग्दासमेत कुनै तहबाट राहत नपाउँदा उनलाई दुख लागेको छ । आफूहरुको वैकल्पिक व्यवस्थापनका लागि कुनै तहले नसोच्दा उनी चिन्तित छन् ।
चुरे ५ कै गणेश थापा मगर पनि पहिरोबाट प्रभावित भएर खानीडाँडानजिक सडक छेउमा त्रिपाल हालेर बसिरहेका छन् । उनी पनि सरकारी निकायले वैकल्पिक व्यवस्थापन गरिदिए सहज हुने बताउँछन् । ‘अहिलेसम्म भएका खसीबाख्रा बेचेर गुजारा चलाइरहेको छु । अब बाख्रा पनि सकिन लाग्यो । कसरी परिवारको छाक टार्ने भन्ने चिन्तामा छु,’ उनले समस्या सुनाए ।
चुरे गाउँपालिकामा केही घर पहिरोले बगाइसकेको त केही घर पहिरोको उच्च जोखिममा परेपछि स्थानीय तह र प्रशासनले उनीहरुलाई सडक छेउमा त्रिपालमुनि राखेको हो । रेडक्रस, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहबाट उनीहरुलाई अहिलेसम्म केही थान त्रिपाल मात्रै उपलब्ध भएको पहिरोपीडितहरुले बताएका छन् । २ महिनासम्म वैकल्पिक व्यवस्थापनको कुनै तयारी नभएपछि उनीहरु चिन्तित छन् । चाडपर्व नजिकै आइसक्दा घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले उनीहरुलाई थप पिरोलेको छ । चुरे १ की मंगलीदेवी धामीको पनि २ महिनादेखि त्रिपालमुनिकै बास छ । घर बन्ने ठेगान नहुँदा उनलाई पनि चिन्ता थपिएको छ ।
राहतका लागि दस्थानीय तहबाट हुने प्रयास भइरहेको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्काले दावी गरे । पहिरो पीडित तथा पहिरोको जोखिममा रहेकाहरुलाई गाउँपालिकाले सुरक्षित स्थानतर्फ सारेर त्रिपाल उपलब्ध गराएको अध्यक्ष रोक्काले बताए । थप सहयोग गरिरहेको र वैकल्पिक व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराइसकेको उनको भनाइ छ ।

प्रकाशित समय १२:२२ बजे

















