गृहपृष्ठ रेल्वे कम्पनीमा जागिर खान ३२ हजार युवाको आवेदन, यस्तो छ छनौट प्रक्रिया

रेल्वे कम्पनीमा जागिर खान ३२ हजार युवाको आवेदन, यस्तो छ छनौट प्रक्रिया

प्रदेश २ मा बढ्दो बेरोजगारीको उदाहरण नेपाल रेल्वे कम्पनीले निकालेको ६ महिने करार जागिरको लागि आवेदन दिनेहरुको संख्याले प्रष्ट पारेको छ । कम्पनीले पहिलो चरणमा भारतको जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनका लागि प्राविधिक तथा अप्राविधिक गरि १ सय २९ जना जनशक्ति माग गरेको छ ।

असोज १२ गतेसम्म ३२ हजार युवाहरुले आवेदन दिएको कम्पनीका महाप्रवन्धक गुरुप्रसाद भट्टराइले जानकारी दिए । उनका अनुसार कम्पनीले शाखा अधिकृतदेखि स्टेसन मास्टर, लेखा, प्रशासन, सुरक्षागार्ड, प्राविधिक लगायतको २९ पदमा १ सय २९ जना कर्मचारी माग गरेको हो ।

यस्तो हुनेछ छनौट प्रक्रिया

आवेदन दिएको ३२ हजारमध्ये पहिलो चरणमा शैक्षिक योग्यता, कार्यअनुभव लगायतका आधारमा ‘सर्टलिष्ट’ गरी अन्तर्वार्ताका लागि उम्मेदवारहरुको नामवली प्रकाशन गरिने भएको छ । रितपूर्वक आवेदन दिएका युवाहरुको सर्टलिष्ट तयार गरेपछि मौखिक परीक्षाको मिति तय गरिनेछ । मौखिक परिक्षाको लागि लोकसेवा आयोग, नेपाल रेल्वे कम्पनी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधीहरु सम्मिलित एक समिति गठन गरिएको छ । समितिमार्फत नै अन्तर्वार्ता लिएर परेको आवेदकहरुमध्येबाट उत्कृष्ट १ सय २९ जनालाई पहिलो चरणमै नियुक्त गरि रेल्वे सञ्चालन गरिनेछ ।

नियुक्त हुने कर्मचारीहरुलाई नेपाल रेल्वे कम्पनीले पदअनुसारको तालिम दिएर काममा खटाइने महाप्रबन्धक भट्टराइले जानकारी दिए । रेल्वे सञ्चालनको लागि २ सेट रेल्वे नेपाल आइसकेको छ । जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन गर्न अब कुनै समस्या नरहेकाले गर्दा चाँडै रेल सञ्चालन गर्ने तयारीमा कम्पनी लागिपरेको उनले बताए ।

कोरोना महामारीबीच नेपाल र भारतको क्रस बोर्डर भएर चल्ने जनकपुर-जयनगर रेल सञ्चालनमा ढिलाइ भए पनि अब भने हरेक काम अगाडि बढिसकेको महाप्रबन्धक भट्टराईले दाबी गरे । ‘नेपालभन्दा छिमेकी देश भारतमा कोरोनाको कहर बढी छ । त्यसकारण नेपाल-भारत रेल चलाउन अलि असम्भव छ । तर नेपालभित्रै भए पनि रेल चलाउँछौँ,’ उनले भने ।

प्रकाशित समय १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु