गृहपृष्ठ वामदेव गौतमविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
वामदेव गौतमविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न र मन्त्री बन्न रोक्नका लागि सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ । अब शुक्रबार यहीँबाट बहस सुरु हुने सर्वोच्चले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले गौतममाथिको रिट हेर्दाहेर्दैमा राखेको हो ।
सरकारले प्रतिनिधि सभा चुनाव हारेका गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेसँगै रिट परेको थियो ।रिटमा सुनुवाई गर्दै यसअघि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिइसकेको छ ।
अधिवक्ता बद्रीराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत असोज ४ गते गौतमविरूद्ध रिट दायर गरेका थिए । आज रिट निवेदन दर्ता गर्नेको पक्षबाट बहस भएको छ । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाइएको छ ।
प्रकाशित समय १७:२९ बजे

















