गृहपृष्ठ प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी राख्न प्रस्ताव
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी राख्न प्रस्ताव
प्रदेश ५ को राजधानी र नामका लागि छलफल सुरु भएको छ । स्थायी राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्नका लागि प्रस्ताव प्रदेशसभामा दर्ता भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।
शुक्रबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गरेको मन्त्री केसीले बताएका छन् । दाङको देउखुरीलाई केन्द्रमा राखेर गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई पनि राजधानीमा जोड्ने प्रस्ताव मन्त्री केसीले प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
नेपालको संविधानले प्रदेश राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रदेश सभालाई दिएको छ । प्रदेश सभाले स्थायी राजधानी र नामको बारेमा निर्णय गर्नका लागि कार्यदल गठन गरेको थियो । प्रदेश सभामा मन्त्री केसीले प्रस्ताव पेस गरेपछि केही सांसदहरूले भने विरोध जनाएका थिए ।
प्रकाशित समय १६:२२ बजे

















