गृहपृष्ठ हल्ट प्राइजको ‘अनक्याम्पस प्रतिस्पर्धा’ नेपाल इन्जिनियरिङ कलेजमा
हल्ट प्राइजको ‘अनक्याम्पस प्रतिस्पर्धा’ नेपाल इन्जिनियरिङ कलेजमा
यस वर्ष हल्ट प्राइजको अनक्याम्पस कार्यक्रम नेपाल इन्जिनियरिङ कलेज (नेक) मा हुने भएको छ । पोखरा विश्वविद्यालयभरका विधार्थीहरुले प्रतिस्पर्धा गर्न पाउने गरि कार्यक्रम हुन लागेको हो ।
प्रत्येक वर्ष हल्ट प्राइज फाउन्डेसन र संयुक्त राष्ट्रसंघको सहकार्यमा विश्वभर हल्ट प्राइज आयोजना हुने गरेको छ । आगामी डिसेम्बरमा आयोजना हुन लागेको यस कार्यक्रमका लागि तयारी अगाडि बढिसकेको हल्ट प्राइज नेकका क्याम्पस निर्देशक निरज विकेले जानकारी दिए ।
खाद्य सुरक्षा, शुद्ध खानेपानी, शिक्षा, उर्जाको क्षेत्रमा रहेका विश्वव्यापी साझा सामाजिक समस्याका चुस्त समाधान खोज्दै आएको हल्ट प्राइज फाउन्डेसनले यस वर्षका लागि फुड फर गुड : टान्सफरिङ फुड इन्टु भेइकल फर चेन्ज शीर्षकको चुनौती छनोट गरेको छ ।
विद्यार्थीहरुले तीनदेखि चार जनाको समूह बनाइ प्रतिस्पर्धामा भाग लिन पाउने र यस चुनौतीमा उत्कृष्ट सामाजिक व्यवसायिक योजना प्रस्तुत गर्ने बिधार्थी समूह अघिल्लो चरणको क्षेत्रीय प्रतिस्पर्धाको लागि छनोट हुने छन् । एक वर्षसम्म चल्ने यस कार्यक्रमको ग्लोवल विजेताले १० लाख अमेरिकी डलर पुरस्कार स्वरुप पाउने छन् ।
सन् २००९ मा सुुरु भएको र पहिलो वर्षमा नै २५ देशका एक हजार विद्यार्थी सहभागी हल्ट प्राइजको प्रतिस्पर्धामा अहिले विश्वका १२० देशका दुई हजार भन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरुले भाग लिने गरेका छन् । विधार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइजले विद्यार्थीहरुलाई सामाजिक उधमी बन्न उत्प्रेरित गर्ने गरेको छ ।
कोरना महामारीको विषम परिस्थिति कायमै रहेको खण्डमा हल्ट प्राइजका सबै कार्यक्रम वैकल्पिक माध्यम (अनलाइन) मार्फत सञ्चालन गर्ने योजना रहेको हल्ट प्राइज नेपाल इन्जिनियरिङ कलेजका सञ्चार प्रबन्धक रोबर्टराज उपाध्यायले बताए ।
प्रकाशित समय ११:४१ बजे

















