गृहपृष्ठ आर्थिक समृद्धितर्फ लम्किँदै ‘चोरहरुको गाउँ’

आर्थिक समृद्धितर्फ लम्किँदै ‘चोरहरुको गाउँ’

केही वर्ष अघिसम्म चोरहरुको गाउँ भनेर चिनिने सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दाले चोरी डकैतीजस्ता आपाराधिक क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रगञ्जमा बसोबास गराएका थिए ।

मुलुकमा आएको सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनसँगै उनीहरुले पनि अहिले आफ्नो पेशालाई रुपान्तरित गरेका छन् । पुख्र्यौली पेशा चोरी डकैती गर्ने काम त्यागेर विभिन्न व्यवसाय गर्न थालेपछि अहिले उनीहरुको जीवनमा सकारात्मक आर्थिक परिवर्तन हुन थालेको छ ।

‘त्रेतायुगमा कुख्यात डाका रहेको रत्नाकर चेतनाका कारण वाल्मिकी (साधु) हुनसक्छ भने अहिले कलियुगमा हामी किन साधु हुन सक्दैनौं,’ लालबन्दी नगरपालिका- २, पुनर्वास बस्तीका दानालाल पासवानले भने, ‘देशमा लामो संघर्षपछि आएको संघीयतालेले हाम्रो गाउँमासमेत आर्थिक परिवर्तन हुन थालेपछि हामीले पुर्ख्याैली पेशालाई त्यागेका छौं ।’

‘पूर्व-पश्चिम राजमार्गको लालबन्दी बजारबाट करिब पाँच किलोमिटर पश्चिम दक्षिणस्थित सो बस्तीका चोरहरु अहिले राज्यको मूलधारमा आएर विभिन्न व्यवसाय गर्दै आएका छन्,’ लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले भने, ‘उनीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि कृषि पेशामा आधारित कार्यक्रम, खेतखेतमा सिँचाइको लागि बिजुली र प्रत्येक प्लटमा कृषि सडक पुर्याइएको छ ।’ तरकारी खेतीबाट वार्षिक करोडौं रुपैयाँ आम्दानी हुन थालेपछि उनीहरुले अहिले आफ्नो पुर्खाैली पेशा त्यागेको उनले बताए ।

हिजोको कष्टपूर्ण जीवनशैलीमा आधारित पुर्खाैली पेशा त्यागेर तरकारी खेतीबाट उनीहरुको फेरिएको जीवनशैलीसँगै अहिले पुनर्वास बस्तीको परिचय समेत फेरिएको लालबन्दी नगरपालिका- २ का वडाध्यक्ष किरण पासवानले बताए । उक्त बस्तीमा कृषि र सिँचाई क्षेत्रमा बढी बजेट छुट्याइएकाले उनीहरुको आर्थिक रुपान्तरणमा ठूलो सहयोग पुगेको उनले बताए । ‘यो बस्तीको चारैतिर अहिले पक्की सडक देख्न सकिन्छ,’ उनले भने, ‘कृषि र पशुपालन व्यवसाय तथा वैदेशिक रोजगारका कारण गाउँमा अहिले प्रायःजसोको आर्थिक अवस्थामा सुधार आएको छ ।’

पुनर्वास बस्तीका देवानन्द पासवानले करिब चार दशक अघिसम्म यस क्षेत्रका बासिन्दा सो गाउँको बाटो भएर हिँड्न डराउँथे तर समयको परिवर्तनसँगै आफुहरुको जीवनशैलीमा समेत परिवर्तन आएको बताए । उनले भने, ‘निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा आएको संघीय लोकतान्त्रिक राजनीतिक व्यवस्थाका कारण अहिले यो बस्तीमा बिजुली, सडक, सिँचाइ विद्यालयको पहुँच पुगेको छ । आधारभूत आवश्यकता परिपूर्तिसँगै यो बस्ती अहिले समृद्धिको यात्रातर्फ लम्किँदै गएको छ ।’

धनुषा जिल्लाको झिँझा गाउँबाट लालबन्दीको नेत्रगञ्जमा तत्कालीन सरकारले सुरुमा २६० घरपरिवारलाई बसोबास गराए पनि हाल सो गाउँमा ५०० घरपरिवार छ भने करिब तीन हजार ५०० जनसंख्या रहेको छ । लालबन्दी नगरपालिका- २ मा पर्ने सो बस्तीमा ७० प्रतिशत दलितको बाहुल्यता रहेको छ । ए, बी, सी र डी गरी चारवटा ब्लक रहेको सो पुनर्वास बस्तीलाई अहिले पासवान बस्तीसमेत भनेर सम्बोधन गर्ने गरिन्छ । दलित बस्ती भए पनि समृद्धिको यात्रातर्फ लम्किँदै जानुको प्रमुख कारण लालबन्दी नगरपालिकाले त्यहाँको कृषि क्षेत्रमा गरेको अत्याधिक लगानी नै हो ।

“युवाहरु वैदेशिक रोजगारमा तेस्रो मुलुक जानु र महिला तथा वृद्धवृद्धाहरु तरकारी खेतीगरी मनग्य आर्थिक लाभ लिन थालेपछि यो गाउँको अहिले मुहार फेरिएको छ,’ वडा नं १ का वडाध्यक्ष पञ्चालाल स्यांयोले भने, ‘लालबन्दी बजारको आर्थिक समृद्धिमा यहाँका किसानले उत्पादन गर्ने कृषि उपज, दूध व्यवसायले ठूलो सहयोग गरेको छ ।’

पुनर्वास गाउँमा प्राथमिक र माध्यमिक विद्यालय रहेका छन् । उनीहरुको छोराछोरी यसै विद्यालयमा अध्ययन गरी शिक्षा हासिल गर्दै आएका छन् । छोटो समयमा पुख्र्यौली पेशा त्यागेर धनुषाको झिँझाबाट यहाँ आएका मानिस कडा परिश्रम र मेहेनत गरेर यहाँ सुन फलाउन थालेपछि लालबन्दीवासी खुशी भएका छन् ।

चोरी डकैतीजस्ता आपाराधिक क्रियाकलाप गर्नेहरुको लागि पुनर्वास बस्तीका मानिस उदाहरण बनेका छन् । आपाराधिक क्रियाकलाप त्यागेर यहाँ आएका झिँझाका मानिस वाल्मिकी बन्न सक्छन् भने अरुले किन सक्दैन ? लालबन्दीवासीको भनाइ छ । (रासस)

प्रकाशित समय १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु