गृहपृष्ठ हुम्लामा नेपाली भूमि मिचिएको कांग्रेसको निष्कर्ष, चीनसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन माग

हुम्लामा नेपाली भूमि मिचिएको कांग्रेसको निष्कर्ष, चीनसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन माग

शाही नेतृत्वको टोली ।

हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको विषयलाई  गम्भीरतापूर्वक लिएको नेपाली कांग्रेसले जनाएको छ ।

यसबारे तत्काल धारणा सार्वजनिक गर्न नेपाल सरकारसमक्ष माग गर्दै, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब सुरु गर्न कांग्रेसले माग गरेकाे छ ।

‘सदरमुकाम सिमीकोटबाट ५० कोषमा रहेको नाम्खाको लिमीमा चीनले नेपालको सिमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्रमार्फत धारणा सार्वजनिक गरेको थियो भने प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसले ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत हुने अतः स्थलगत अध्ययनको प्रतिवेदनपश्चात् टिप्पणी गर्नु जिम्मेवार र परिपक्व हुने’ धारणा सार्वजनिक गरेको थियो । सरकारको धारणालाई हामीले तत्कालै ‘हतारोको टिप्पणी’ संज्ञा दिएका थियौं,’ विज्ञप्तिमार्फत कांग्रेसले स्मरण गराएको छ ।

‘हुम्ला स्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि असोज १४ गते कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुग्यो । चीनसँगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सीमाक्षेत्रमा सो टोलीले ११ दिन लगाएर गरेको अध्ययन (प्रतिवेदन यही वक्तव्य साथ संलग्न छ) को निष्कर्ष छ, नाम्खाको लिमीमा चीन सरकारले करिब दुई किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको छ,’ बुधबार पार्टी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सीमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ ।’

सीमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट, हामीलाई दुवै अस्वीकार्य हुने कांग्रेसले स्पष्ट पारेकाे छ । हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय भएकाे उल्लेख कांग्रेसकाे ठहर छ । नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता राष्ट्रघाती, झनै आपत्तिजनक, आश्चर्य र निन्दनीय विषय भएकाे कांग्रेसले उल्लेख गरेकाे छ ।

कांग्रेसको स्थलगत प्रतिवेदन :

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु