गृहपृष्ठ प्राधिकरणको जीर्ण भवन बल्ल ठेक्कामा
प्राधिकरणको जीर्ण भवन बल्ल ठेक्कामा
करिब ६ करोड लागतमा निर्माण भएको पोखरा- १७, मुस्ताङ चोकस्थित नागरिक उड्डयन प्राधिकरणको भवन वर्षौ बित्दा पनि प्रयोगमा आएको छैन ।
व्यापारिक प्रयोजनको लागि बनाएको उक्त भवन ठेक्कामा नलाग्दा प्रयोगविहीन रहेको हो । लामो समयसम्म प्रयोगविहीन भएका कारण सो भवन जीर्ण बन्दै गएको छ । भवन वरिपरि अव्यवस्थित रुपमा फोहोरको थुप्रो लागेको छ । प्राधिकरणले भवन भाडामा लगाउन ५ पटकसम्म सूचना निकाले पनि कुनै कम्पनीले आवेदन दिएनन् ।
मासिक २ लाख रुपैयाँका दरले उक्त भवन प्रयोगको लागि प्रदेश सरकारले गण्डकी विश्वविद्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सम्पर्क कार्यालय खडा गर्न भाडामा लिने पोखरा विमानस्थल प्रमुख भोला गुरागाईंले बताए । ‘कुन प्रयोजनका लागि भाडामा लिइएको भन्ने विषय खुलाइएको छैन । प्राधिकरणको आय आर्जनको हिसाबले भवन निर्माण गर्दा विमानस्थल नियमावलीअनुसार त्यसको भाडादर कायम गरेर टेन्डर आह्वान गर्दा पनि कुनै टेन्डर परेको थिएन,’ उनले भने ।
उक्त भवन गण्डकी प्रदेश सरकारले संस्कृति तथा नागरिक उड्यन मन्त्रालयलाई हस्तान्तरणका लागि माग गर्दा वेवास्ता गरेको र अहिले भाडामा लिने सहमति भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । ‘भवन बनाएको दिनदेखि संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई उक्त भवनबाट न कुनै पैसा प्राप्त भएको छ न कार्यालय बस्ने योग्य छ । न भवनको संरक्षण नै । विना प्रयोजनको उक्त भवन सबै तोडफोड भएकाले मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ,’ उनले भने । उक्त भवन प्रदेश सरकारलाई हस्तान्तरण गर्न अनुरोध गरे पनि सस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले त्यो नचाहेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।
‘अहिले हामीले त्यसलाई पनि भाडामा लिएर मर्मत सम्भारमा करिब ९० लाख खर्च हुन्छ होला । त्यसपछि हामीले त्यहाँ प्रदेश लोकसेवा आयोग र गण्डकी विश्वविद्यालयको नयाँ भवन नबनुञ्जेलसम्मका लागि सम्पर्क कार्यालयको रुपमा राख्ने योजनाका साथ अगाडि बढिरहेका छाैं,’ उनले भने ।
प्रतिमहिना २ लाख रुपैयाँ भाडादरले ६ वर्षका लागि लिने तय भएको प्रदेश सरकारले जनाएको छ । उक्त भवन १३ सय १४ दशमलव ९३ स्क्वायर मिटरको रहेको छ ।
प्रकाशित समय १३:४२ बजे

















