गृहपृष्ठ आज दसैंको चौथो दिन, शक्तिपीठहरुमा कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
आज दसैंको चौथो दिन, शक्तिपीठहरुमा कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
वडा दसैंको चौथो दिन आज देशभरका शक्तिपीठमा भगवती कुष्माण्डाको पूजा आराधना गरिँदै छ । देवी कुष्माण्डाको आराधनाका लागि बिहानैदेखि विभिन्न शक्तिपीठमा भक्तजनहरु पुगेका छन् ।
आज काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठ तथा धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनी मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।
नवरात्रको चौथो दिन महामायाको चौथो स्वरुप भगवती कुष्माण्डा देवीको संकल्पबद्ध भएर आराधना गर्ने गरिन्छ । सूर्यमण्डलको भित्र रही सम्पूर्ण चराचरलाई प्रकाशित गर्ने अष्टभुजावती सिंहवाहिनी कुष्माण्डा देवीको इषत् हास्यबाट नै सम्पूर्ण ब्रह्माण्डको रचना भएको धार्मिक विश्वास छ । शक्ति हामी सबैका लागि आवश्यक छ । यसलाई कसैले सिर्जनात्मक रुपमा प्रयोग गर्दछन् त कसैले विध्वंसात्मक रुपमा ।
सम्पूर्ण प्राणीमा समरुपमा शक्तिको प्रवाह गराउने देवी कुष्माण्डा हुन् । उनै दवीलाई नै भगवतीको सात्विक भावावतार मानिन्छ । यिनको स्मरणले इच्छा र आशाको द्वन्द्वबाट छुटकारा मिल्छ । उपासकमा शान्तभावको पालना गरी निरन्तर पूजन, ध्यान र चिन्तन गर्नाले शक्ति प्राप्त हुन्छ ।
दैवी शक्ति आर्जन गर्नका लागि तान्त्रिक वा वैदिक विधिद्वारा कुष्माण्डा देवीको उपासना नवरात्रको यस दिनमा गर्ने प्रचलन रहँदै आएको छ । योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान आहत चक्रमा केन्द्रित हुन्छ ।
नवरात्रका ९ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।
प्रकाशित समय ०८:३६ बजे

















