गृहपृष्ठ ‘हिंसापीडित महिलाले रोइदिए पुग्छ, हामीले के गर्ने ?’
‘हिंसापीडित महिलाले रोइदिए पुग्छ, हामीले के गर्ने ?’
उनन्तीस जना हिंसा प्रभावित महिलाको बीचमा वीरेन्द्रनगर ४ सुर्खेतका केशवबहादुर रोकाया एक्लै थिए । हिंसा प्रभावित महिलाहरुको बीचमा बसेका उनलाई सुरुमा कसैले पीडित हुन् भन्ने अनुमानसमेत गरेको थिएन । जब २९ वर्षीय रोकाया श्रीमतीले असह्य पीडा दिएको दिएको भन्दै सुँक्कसुँक्क गर्न थाले, तब सबै अलमल्ल परे ।
दुई छोराछोरीका बाबु उनी श्रीमतीले हिंसा गरेको भन्दै न्याय माग्न त्यहाँ आएका रहेछन् । ‘विवाह भएको १३ वर्ष भयो,’ उनले भने, ‘उसले जे गल्ती गरे पनि मैले छोराछोरीका लागि भनेर केही गरिन, आज १० महिना भयो घर छाडेको ।’
श्रीमतीले घर छाडे पनि बारम्बार फोनबाट ‘तँ मर्’ भनेर धम्की दिइरहेको उनले बताए । ‘हिंसा महिलालाई मात्रै होइन, पुरुषलाई पनि हुन्छ, महिलाले रोएपछि पुग्छ तर पुरुष रुँदै कहाँ जाने ?’ उनले दुखेसो गरे । छोरामान्छे भएर श्रीमतीबाट पीडित भएँ भन्न लाज मानेर आफूले पीडा लुकाएर राखेको रोकायाले बताए ।
श्रीमतीका लागि उनले बुवाआमा त्यागे । तर, बिरामी परेको अवस्थामा पनि श्रीमतीबाट साथ पाएनन् । छोराछोरीसमेत बिचल्ली पारेर हिँडेपछि उनी बिहीबार न्याय खोज्दै नवज्योति केन्द्र सुर्खेत पुगेका रहेछन् । केन्द्रले हिंसा प्रभावित महिलासँग अन्तक्र्रिया राखेको थियो । रोकाया पेसाले पेन्टर हुन् । उनी एक वर्षदेखि टाउकोको रोगबाट ग्रसित छन् ।
कार्यक्रममा उपस्थित वीरेन्द्रनगर नगरपालिका १० की कलिना थारुले घरपरिवार र माइती दुवै पक्षबाट पीडित भएको बताइन् । श्रीमानसँग सम्बन्ध बिच्छेद भएपछि माइतीको शरणमा बस्दै आएकी उनलाई माइतीले नै घरनिकाला गरिदिए । सुरुमा समाजको लाज र डरले माइतीविरुद्ध मुद्दा हाल्न उनलाई मन लागेन । ‘मलाई लाज लाग्यो,’ उनले भनिन्, ‘आफ्नै छोरीले बुवाआमालाई मुद्दा हाली भन्लान् भनेर सुरुमा केही गरिन ।’ पछि छिमेकीको सहारामा जिल्ला अदालत सुर्खेतमा अंश मुद्दा दर्ता गरिन् र जितिन् पनि ।
वीरेन्द्रनगर नगरपालिका ८ की बेलमती डाँगी पनि २५ वर्षदेखि श्रीमानबाट सबै प्रकारका हिंसा सहँदै आएकी थिइन् । दुई छोराकी आमा उनले माइतीको लाज र श्रीमानको बेइज्जतीको डरले कुटाइ खाइरहिन् । ‘आमाले पनि इज्जत जान्छ, मुद्दा नगर भन्नुभयो,’ उनले भनिन्, ‘छोराहरु ठूला भएपछि अहिले आफैँ बाबुविरुद्ध मुद्दा हाले ।’ उनले इज्जतको डरले कसैले पनि हिंसा सहन नहुने बताइन् ।
अधिकांश महिला तथा पुरुष घरेलु हिंसाको सिकार हुने भए पनि इज्जत जाने डरले कानुनी बाटो अपनाउन पछि हट्ने अधिवक्ता गीता कोइरालाले बताउँछिन् । अहिले धेरै पुरुष पनि हिंसामा परेको उनले बताइन् ।
जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक डिला बिकले पनि प्रहरीमा अहिले ३० प्रतिशत मुद्दा महिलापीडित पुरुषबाट आउने गरेको बताइन् । ‘महिलालाई पीडा त छँदै छ,’ उनले भनिन्, ‘तर हिजोआज पुरुषसमेत हिंसामा परेका थुप्रै घटना बाहिर आउन थालेका छन् ।’
कार्यक्रममा हिंसा प्रभावित महिलालाई दसैँको लागि खाद्यान्न र रकम पनि उपलब्ध गराइएको छ । ३० जना हिंसा प्रभावितहरुलाई २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक पोका नुन, आधा किलो सोयाबिन र पाँच सय रुपैयाँ प्रदान गरिएको केन्द्रकी निर्देशक सिस्टर रोसिटाले जानकारी दिइन् ।
प्रकाशित समय १९:३९ बजे

















