गृहपृष्ठ गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
फाइल तस्बिर
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९:१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।
फूलपातीको डोली बा. २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु-याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याइनेछ ।
कार्यालयका नायब सुब्बा चूडानिधि तिवारी हुनमान ढोका दरबारमा फूलपाती लिएर गएको छन् । ‘फूलपाती लैजाँदा विगत वर्षहरूमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्थ्यो,’ भुसालले भने, ‘यसपटक त्यस्तो हुन पाएन, सामान्य विधि पु-याएर फूलपाती पठाएका छौँ ।’
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार पु-याएर भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरुले बोकेर ल्याउने गर्छन् । गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । (रासस)
प्रकाशित समय ११:२१ बजे

















