गृहपृष्ठ प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृतको संख्यामा वृद्धि
प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृतको संख्यामा वृद्धि
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा गत वर्षभन्दा बढी जना रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआइएस) मा सूचीकृत भएका छन् ।
गत वर्ष एक हजार एक सय दुई जना सूचीकृत भएकामा यस वर्ष उक्त संख्या बढेर एक हजार छ सय ७७ पुगेको छ । सूचीकृत हुनेमा छ सय १३ महिला तथा एक हजार ६२ पुरुष रहेका छन् । दशरथचन्द नगरपालिकाका रोजगार संयोजक नन्दराज जोशीका अनुसार सूचीकृत भएका सबैको नाम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि प्राथमिकताका आधारमा एक सय दिनको रोजगारी पाउने जोशीले बताए ।
उनले भने, ‘मन्त्रालयले कार्यविधि पठाएपछि तिहारलगत्तै काम सुरु हुन्छ ।’ सरकारले स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । फाराम भरेका बेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएकालाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिँदै आएको छ ।
एउटा आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइन्छ । नगरपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत ५१ लाख रूपैयाँ बजेटको व्यवस्था गरिएको छ । गत वर्ष दशरथचन्द नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा २८ लाख रूपैयाँ बजेटको ब्यवस्था गरिएको जोशीले बताए । गत वर्ष नगरपालिकाले पाँच सय जनालाई रोजगार प्रदान गरेको थियो । (रासस)
प्रकाशित समय ०९:४३ बजे

















