गृहपृष्ठ ‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

फाइल तस्बिर

खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् ।

गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि बाँदर भाग्ने भएपछि किसानलाई सहज भएको छ । ‘एउटा वडाबाट धपाउँदा अर्को वडामा पुग्छ, पड्काएको केहीबेरसम्म बाँदर आउँदैनन्,’ वडा नं. २ का किसान कान्तलाल जैसीले भने, ‘मेसिनका कारण सजिलो भएको छ ।’ बाँदरले बाली मासेपछि मारमा परेका किसानलाई पछिल्लो समय सजिलो भएको उनको भनाइ छ । पोहोरभन्दा यस वर्ष मेसिनको सहयोगमा बाँदर नियन्त्रण गर्न सकिएकाले खेतबारीको बाली जागाउन सकिएको जैसीले बताए ।

‘मकै पाक्ने बेला बाँदरको बास नै खेतबारीमा हुन्थ्यो, हिउँद र वर्षा बाँदर धपाएरै दिन काटिन्थ्यो,’ जैसीले भने, ‘अहिले एक पटक धपाए पछि केही दिनका लागि ढुक्क भइन्छ ।’ बन्दुकजस्तै पड्किने मेसिन गाउँपालिकाले किसानलाई उपलब्ध गराएको हो । मेसिन प्रयोग गर्न थालेपछि बाँदर कहिलेकाँही घुमिफिरी आउने गरेको वडा नं ६ बिहुँका बालानन्द कँडेल बताउँछन् ।

गाउँपालिकाले ४० थान बाँदर धपाउने मेसिन आठओटै वडाका किसानलाई उपलब्ध गराएको छ । प्रत्येक वडामा पाँच पाँच वटाका दरले मेसिन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । सुरुआतमा स्याङ्जामा मेसिन बनेको र प्रभावकारी रहेको खबर पाएपछि यहाँका किसानको आग्रहमा गाउँपालिकाले प्रतिथान रु तीन हजारका दरले मेसिन किनेको थियो । अहिले बागलुङमै मेसिन बनाउन थालिएको थापाले बताए । दुई हजार एक सय रूपैयाँमा बागलुङमै मेसिन निर्माण गरिन्छ । (रासस)

प्रकाशित समय १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु