गृहपृष्ठ अधिकांश शक्तिपीठमा मन्दिरबाहिरैबाट दर्शन

अधिकांश शक्तिपीठमा मन्दिरबाहिरैबाट दर्शन

नक्साल भगवतीबाहिरबाटै पूजा गर्दै भक्तजन ।

नवरात्रिका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेकामा यो वर्ष कोरोनाभाइरस संक्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका ८ का अध्यक्ष दिनेशकुमार डंगोलले जानकारी दिए ।

यसैगरी पशुपति क्षेत्रकै जयवागेश्वरीलगायत शक्तिपीठमा पनि बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन् । भौतिक दूरी कायम गरेर आज बिहानसम्म मैतीदेवी मन्दिर प्रबन्ध समितिले निर्णय गरी खुला गरिएको थियो । आज बिहान सात बजेपछि भने प्रहरीले माथिको आदेश छ भन्दै मन्दिर बन्द गरेको महानगरपालिका–३० का वडाध्यक्ष समेत रहनुभएका मन्दिर प्रबन्ध समितिका अध्यक्ष दलबहादुर कार्कीले बताए ।

मन्दिरमा साङ्लो लगाएर एक/एक जनाले मात्र दर्शन गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ । प्रहरीले मन्दिर बन्द गराएपछि भक्तजनले बाहिरबाटै दर्शन गरी फर्किने गरेका छन् । महानगरपालिका–२९ स्थित कालिकास्थान मन्दिर भने भौतिक दूरी कायम गरेर खुला राखिएको अध्यक्ष कुश ढकालले बताए । मन्दिरमा स्थानीय भक्तजनमात्र आउने भएकाले एक/एक गरी दर्शन गर्न दिइएको छ । स्वयंसेवक खटाएर भक्तजनलाई दुई मिटरको दूरीमा राखी सुरक्षित रुपमा पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाइएको कालिकास्थान मन्दिर व्यवस्थापन समितिका सचिव हरि लामाले जानकारी दिए ।

भद्रकाली मन्दिरमा पूजा गर्दै भक्तजन ।

महानगरपालिका ११ स्थित भद्रकाली मन्दिरसमेत भक्तजनका लागि बन्द गरिएको अध्यक्ष हीरालाल तण्डुकारले बताए । बन्द गरिए पनि केही भक्तजन भने दर्शन एवं सवारी साधन पूजा गर्ने भन्दै भद्रकाली परिसरमा जम्मा भएका छन् । यसैगरी वडा नम्बर २२ मा पर्ने संकटा मन्दिर पनि बन्द छ । कोरोना संक्रमण फैलिने खतरा देखिएकाले नित्य पूजाबाहेक सबै भीडभाड बन्द गरिएको वडाध्यक्ष चिनीकाजी महर्जनले बताए ।

प्रत्येक हप्ता शनिबार साढे साती एवं शनिको अढैया भएकाको भीड लाग्ने महांकाल मन्दिर पनि बन्द गरिएको वडा कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका १ स्थित चार भगवतीमध्येको एक नक्साल भगवती मन्दिर पनि मूल ढोकामै ताला लगाइएको छ । मन्दिरपरिसरमा आउने भक्तजन सडकबाटै दर्शन गरेर हिँड्ने गरेको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए । वडा नम्बर १५ मा पर्ने शोभा भगवती मन्दिरमा भने मूल ढोकासम्म पुगेर दर्शन गर्ने व्यवस्था मिलाइएको स्वयंसेवक राजाराम कपालीले जनाए ।

यसैगरी विष्णुमती नदी किनारमा रहेको कंकेश्वरी मन्दिरमा पनि दूरी कायम गरी दर्शन गर्न दिइएको छ । त्यस क्षेत्रका रक्तकाली, श्वेतकाली, बिजेश्वरीलगायत मन्दिरमा दूरी कायम गर्दै सीमित भक्तजनलाई दर्शन गर्न दिइएको १९ नम्बर वडा नागरिक मञ्चका अध्यक्ष सुमन खड्गीले बताए । त्यस्तै शंखरापुर नगरपालिका ८ मा पर्ने प्रसिद्ध बज्रयोगिनी मन्दिर पनि भक्तजनको घुइँचो बढ्न थालेपछि बिहीबारदेखि सूचना प्रकाशन गरी बन्द गरिएको नगर प्रवक्ता एवं वडाध्यक्ष हितमान तामाङले बताए । मन्दिर बन्द भएपछि त्यहाँ पुग्ने भक्तजन बाहिरबाट दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा फूलपातीदेखि महानवमीसम्म बढी भीड लाग्ने गर्छ । मन्दिर महानवमीसम्मका लागि बन्द गरिएको छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका ५ स्थित चामुण्डा मन्दिर भने दूरी कायम गरी खोलिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर १ मा पर्ने सुन्दरीमाई मन्दिर पनि खुला छ । भक्तजन आफैँ दूरी कायम गर्दै दर्शन गरेर फर्कने गरेका छन् । मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजन लाममा बसेका छन् ।

दक्षिणकाली नगरपालिका ६ स्थित प्रसिद्ध दक्षिणकाली मन्दिर पनि बन्द गरिएको उपप्रमुख वसन्ती डंगोल तामाङले जानकारी दिइन् । मन्दिर पुग्ने भक्तजन भने बाहिरबाटै दर्शन गरेर फर्कने गरेका छन् । खोलिएका मन्दिरमा पनि बली पूजा भने स्थगित गरिएको छ । बन्द गरिएका शक्तिपीठमा पनि पुजारीले नित्य पूजालाई भने निरन्तरता दिएको छ ।

प्रत्येक वर्ष शारदीय नवरात्रको फूलपातीदेखि महानवमीसम्म देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेको छ । यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण घरमै बसेर वैदिक सनातन हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको उपासना गरेका छन् । (रासस)

प्रकाशित समय १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु