गृहपृष्ठ जसलाई चाडवाड नआएकै ठिक लाग्छ

जसलाई चाडवाड नआएकै ठिक लाग्छ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का २४ वर्षीय गोकर्ण कुँवर पूर्ण अशक्त छन् । उनको स्याहार गर्ने एक्ली आमा छिन् । घरेडीसम्म मात्रै जमिन भएका उनको कुनै आयआर्जनको स्रोत छैन ।

कञ्चनपुरकै भीमदत्त नगरपालिका १८ का राजु नेपालीका १५ वर्षीय छोरा रोहित नेपाली पनि पूर्ण अशक्त छन् । सानै छँदा खुट्टा जलेर पूर्ण अशक्त बनेका छोराका लागि राजुले भएको सम्पत्ति बेचेर पनि उपचार गरे । तर, उपचार सम्भव नभएपछि अहिले छोराको स्याहार गर्दै उनी भीमदत्त नगरपालिका १८ मा बस्दै आएका छन् । सबैको घरमा दसैँको चहलपहल हुँदा राजु र उनका छोरा रोहितलाई दसैँले छोएको छैन ।

भीमदत्त नगरपालिका १८ का हरिश टमाटा पनि अशक्त बहिनीलाई स्याहार्दै बसेका छन् । बुवाआमा दुवै गुमाइसकेका उनले सुस्त मनस्थिति भएकी बहिनीको स्याहारमै धेरै समय बिताउनुपर्छ । उनले पनि दसैँ आएको कुनै अनुभूति गर्न पाएका छैनन् । मजदुरी गरेर बिहान-बेलुकाको छाक टार्दै आएका उनी कोरोनाका कारण झन् समस्यामा परेका छन् । उनको परिवारलाई चाडबाड नआएकै ठिक लाग्छ ।

सबैतिर दसैँको चहलपहल छ । कोरोनाभाइरस संक्रमणका कारण विगतका वर्षहरुझैँ धुमधामसँग दसैँ नमनाइए पनि चहलपहल कम छैन । मिठोमसिनो खाएर र नयाँ कपडा लाएर मानिसहरु दसैँ मनाइरहेका छन् । सबै उमंग र खुसीका साथ दसैँ मनाइरहँदा गरिबी र शारीरिक अपांगताका कारण धेरैको दसैँ हरेक वर्ष खल्लो हुने गर्छ । उनीहरुका घरमा न दसैँको चहलपहल नै हुन्छ न त आङमा नयाँ कपडा नै फेरिन्छ ।

दसैँ, तिहार र तीजजस्ता ठूला पर्व हुनेखानेकै लागि आउँछन्, जान्छन् । दैनिक छाक टार्न मुस्किल भएका व्यक्तिका लागि हरेक चाड बोझिलो बन्छन् । कैलाली कञ्चनपुरका गरिब तथा अपागंता भएका व्यक्तिका घरमा पुग्दा दसैँको कुनै छनक थिएन । दसैँको मिठोमसिनो र नयाँ कपडा त के उनीहरुलाई दैनिक छाक टार्नै मुस्किल छ ।

अपागंता भएकाहरु र गरिबहरुका आँगनमा दसैँको कुनै चहलपहल नदेखेपछि केही खाद्यान्न र लुगाकपडा बोकेर सुदूरपश्चिम प्रदेशको सार्वजनिक लेखा समितिकी सभापति नन्दा बम उनीहरुका घरघरै पुगेकी छन् । आफ्नो दसैँ खर्च घटाएर उनले कैलाली, कञ्चनपुरका गरिब र अपागंता भएका व्यक्तिलाई खाद्यान्न तथा कपडा सहयोग गरेकी हुन् । यस्ता व्यक्तिलाई सहयोगका लागि सरकारी तह सहयोग कम देखिएको उनले बताइन् । अपागंता र गरिबीका बीच संघर्ष गरिरहेका उनीहरुका लागि दसैँ हरेक वर्ष पीडा बनेर आइदिन्छ ।

प्रकाशित समय १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु